लगातार दोस्रो जितसँगै चितवन ४ अंक जोड्दै शीर्षस्थानमा उक्लियो


काठमाडौं, १५ असोज । लगातार दोस्रो जित निकालेर चितवन ४ अंक जोड्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को शीर्षस्थानमा उक्लिएको छ । बिहीबार चितवन टाइगर्सले काठमाडौं किंग्स इलेभेनमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै पूरा गर्यो । चितवनका राजेश पुलामी २९ बलमा २ छक्का सहित २३ रनमा अविजित रहे । यसअघि विराटनगर वारियर्सविरुद्ध राजेश ४३ रनमा अविजित रहे । कमलसिंह ऐरी १५ बलमा १ चौका र २ छक्का सहित २३ रनमा अविजित रहे ।
आठौं विकेटका लागि कमल र राजेशले ४७ रनको अविािजत साझेदारी गर्दै जित पक्का गराए । एक समय १४ ओभरमा ९५–७ को कमजोर अवस्थामा पुगेको चितवनलाई कमल र राजेशले उत्कृष्ट साझेदारी गर्दै जित पक्का गराएका थिए । पहिलो ओभरको तेस्रो बलमा जनक प्रकाशले ओपनर ईशान पाण्डेलाई शून्यमा बोल्ड आउट गरे । जितेन्द्र मुखियाले चौथो ओभरको तेस्रो बलमा चितवनका प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजादलाई १७ रनमा विकेटकिपर रहमानउल्लाह गुरबाजबाट क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाएका थिए । शाहजादले १३ बलमा ४ चौका प्रहार गरे ।
करिम जन्नत १४ बलमा ३ चौका र १ छक्का सहित सन्दीप लामिछानेको बलमा मुखियाबाट २१ रनमा समातिन पुगे । भीम सार्की ६ र दीलिप नाथ २३ रनमा आउट भए । दीलिपले २६ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । रायन बर्लले शेकुगे प्रसन्नालाई ५ रनमा एलबीडब्लू आउट गरे । १४ औं ओभरको अन्तिम बलमा मुखियाले कप्तान सोमपाल कामीलाई शून्यमा एलबीडब्लू आउट गर्दा चितवन ९५–७ को अवस्थामा पुगेको थियो । त्यसपिछि कमल र राजेशले उत्कृष्ट साझेदारी गर्दै जित पक्का गराए ।
काठमाडौंका रायल बर्लले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखियाले ३.४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । जनक प्रकाश, गुलशन झा र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । काठमाडौंका ओपनर सुवास खकुरेलले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३५ रनको योगदान दिए । ओपनर रहमानउल्लाह गुरबाजलाई दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर कमलसिंह ऐरीले विकेटकिपर मोहम्मद शाहजादबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । पाँचौं ओभरको तेस्रो बलमा स्पिनर शेकुगे प्रसन्नाले अमित श्रेष्ठलाई ६ रनमा बोल्ड आउट गरे । दशौं ओभरको चौथो बलमा करिम जन्नतले राजु रिजाललाई २८ रनमा बोल्ड आउट गरे ।
राजुले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे । राजु आउट हुँदा काठमाडौं ९.४ ओभरमा ७२–३ को बलियो अवस्थामा थियो । तर त्यसपछि सागरले एकपछि अर्को विकेट लिँदै काठमाडौंलाई सस्तैमा रोकेका थिए । ११ औं ओभरको तेस्रो बलमा स्पिनर सागर ढकालले रायन बर्ललाई प्रसन्नाबाट शून्यमा क्याच गराएपछि चितवनले खेलमा पूनरागमन गरेको थियो । सागरले १३ औं ओभरको तेस्रो बलमा सुवास खकुरेलाई एबलीडब्लू आउट गर्दा काठमाडौं ८८–५ को अवस्थामा पुगेको थियो ।
सागरकै बलमा ठूलो सट खेलेका गुलशन साहब आलमबाट ४ रनमा आउट आउट भएका थिए । सागरले आफ्नो स्पेलको अन्तिम बलमा अमर सिंह राउटेलालाई ५ रनमा बोल्ड आउट गर्दा काठमाडौं १२६–७ को अवस्थामा पुगेको थियो । सन्दीप लामिछाने ८ र सिद्धान्त लोहनी ७ रनमा अविजित रहे । तल्लोक्रममा जनक प्रकाश १६ बलमा १ चौका र २ छक्का सहित २६ रन बनाए ।
चितवनका स्पिनर सागर ढकालले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । करिम जन्नतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । शेकुगे प्रसन्ना र कमलसिंह ऐरीले १–१ विकेट लिए । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको थियो । काठमाडौंले साविक विजेता ललितपुरलाई ७ विकेटले पराजित गरेको थियो । चितवनले पहिलो खेल अव शुक्रबार पोखरा राइनोजसँग खेल्ने छ । काठमाडौंले शनिवार भैरहवासँग खेल्ने छ ।
यसैगरी, सान्दुन विराक्कोडीको अर्धशतकमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । यो यस सिजनकै सर्वाधिक ठूलो योगफल हो । यस सिजनमा यसअघि ललितपुरले काठमाडौंविरुद्ध पहिलो खेलमा १ सय ५७ रन बनाएको थियो । सान्दुन विराक्कोडीले ४१ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए ।
विराक्कोडीले ३५ बलमा अर्धशतक प्रहार गरेका थिए । सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्का सहित ३८ रनमा रन आउट भए । ललितपुरका आजमतुल्लाह ओमरजाई २२ बलमा २ चौका र ४ छक्का सहित ४२ रनमा क्याच आउट भए ।
दोस्रो ओभरको तेस्रो बलमा कप्तान तथा ओपनर कुशल भुर्तेल २ रनमा रन आउट हुन पुगे । कुशल यसअघिका दुई खेलमा पनि सस्तैमा आउट भएका थिए । कुशल काठमाडौंसँग खेलमा गोल्डेन डक र पोखरा राइनोजसँग ३ रनमा आउट भए । दोस्रो विकेटका लागि दुई श्रीलंका ब्याटर फर्नान्डो र विराक्कोडीले ६६ रनको साझेदारी गर्दै ललितपुरको इनिङ अघि बढाएका थिए ।
१७ औं ओभरको अन्तिम बलमा थर्डबाट रोहितले डाइरेक्ट थ्रोमा सन्दीपलाई रन आउट गराएका थिए । पवन सरार्फ १ रनमा बोल्ड आउट भए । योगेन्द्रसिंह कार्की ७ रनमा आउट भए । भैरहवाका अभिनाष बोहराले ४ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । कृष्ण कार्की, धाम्मिका प्रसाद, अभिनाष बोहरा र आरिफ शेखले १–१ विकेट लिए ।
यसैगरी, भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीचको खेल बराबरीमा टुंगिएको छ । बिहीबार भएको खेलमा ललितपुरले दिएको ईपीएलको चौथो संस्करणकै सबैभन्दा ठूलो स्कोर १७८ रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाका कप्तान शरद भेषवाकरले अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबरी भएको थियो । स्कोर बराबरी भएपछि सुपर ओभर नभई अंक बाँडिएको हो । लक्ष्य पछ्याउने क्रममा शुरुवात राम्रो हुन नसके पनि श्रीलंकन उपुल थरंगा र कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै भैरहवालाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक थियो ।अन्तिम ओभरमा भैरहवाले दुई छक्कासहित १७ रन मात्र जोड्न सक्यो । भैरहवाका लागि थरंगाले ४४ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा अविजित ६७ रन बनाए । कप्तान शरदले १ बल खेल्दै अविजित ६ रन बनाए । यस्तै कुशल मल्लले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३५ रन जोडे । आरिफ शेखले २८ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २८ रन बनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *