म्यूजिक भिडियोमा सर्वाधिक माग भएकी मोडलमा मलिका

काठमाण्डौ, १४ असोज । म्यूजिक भिडियोमा सर्वाधिक माग भएकी मोडलमा मलिका महत पर्छिन् । म्यूजिक भिडियोले यदी कसैको करिअर चम्काएको छ भने त्यो मलिका महतको हो । लकडाउनमा सार्वजनिक भएको ‘फुलबुट्टे साडी र टाढा भए पनि’ बोलको म्यूजिक भिडियोले उनलाई फिल्मले पनि दिन नसकेको लोकप्रियता दिलायो । उनले पारिश्रमिकमा समेत अभिनेता पल शाहलाई भेट्न थालिसकेकी छन् ।
सलिनमान बनियाँ स्टारर फिल्म ‘यात्रा’ बाट उनले अभिनेत्रीको रुपमा डेब्यू गर्ने अवसर पाएकी थिइन् । बक्सअफिसमा अनमोल केसी अभिनीत फिल्म ‘ए मेरो हजुर ३’ सँग भिड्नु परेकाले मलिकाको डेब्यू फिल्मले सुखद नतिजा हात पार्न सकेन । यद्यपि, फिल्म हेर्ने जतिले उनको अभिनय र सुन्दरताको प्रशंसा गरेका थिए । तर, फिल्म फ्लप हुँदा उनको काम पनि ओझेलमा प¥यो ।
पहिलो फिल्म रिलिजको एक वर्षपछि उनले दोस्रो फिल्मको रुपमा ‘पानीफोटो’ मा काम गरिन् । यो फिल्म प्रदर्शनमा आउन बाँकी छ । यसमा काम गरेपछि उनलाई नयाँ फिल्मबाट अफर नै आउन छाडेको थियो । तर, कोरोनाकाल उनका लागि ‘लक्की’ सावित भयो । लकडाउनको समयमा अभिनय गरेका म्यूजिक भिडियो लगालग हिट भएपछि उनलाई फिल्म अफरको ओइरै लागेको छ ।

पहिलो लकडाउनपछि उनलाई गोपीकृष्ण मुभिजको हिट फिल्म ‘पर्खि बसेँ’ को सिक्वेलबाट अफर भएको थियो । यसपछि निर्देशक विकासराज आचार्यले ‘नाईं नभन्नू ल ६’ को प्रस्ताव गरे । अहिले उनलाई साइन गराउन फिल्म ‘सत्यम’ को टिम प्रयास गरिरहेको छ । उनलाई अरु पनि प्रतिष्ठित ब्यानरबाट फिल्म अफर भएको जानकारीमा छ । तर, उनले भने कुनै फिल्म साइन गरेकी छैनन् ।
स्रोतका अनुसार, मलिकालाई फिल्म ‘नाईं नभन्नू ल ६’ बाट अफर भए पनि अब निर्माण टिमले उनलाई नलिने निधो गरिसकेको छ । ‘पर्खि बसेँ २’ र ‘सत्यम’ मा भने उनले काम गर्ने सम्भावना प्रवल छ । उनी यी दुई फिल्ममा काम गर्न तयार भएको खण्डमा पल शाहसँग उनको जोडी बाँधिन सक्छ । ‘सत्यम’ मा पल पक्का भइसकेका छन् भने ‘पर्खि बसेँ २’ को अफर पनि उनलाई पुगेको छ ।
यसैगरी, कोरोनाका कारण लामो समय बन्द रहेका सिनेमा हललाई गत महिना काठमाडौंसहितका जिल्ला प्रशासन कार्यालयले सञ्चालनको अनुमति दिए पनि प्रदर्शनका लागि नयाँ फिल्म नहुँदा हलहरु बन्दको बन्दै छन् । हल व्यवसायी र वितरकहरुको संस्था नेपाल चलचित्र संघले लामो समयदेखि फिल्म रिलिजका लागि विभिन्न पक्षसँग छलफल गरेपनि उपलब्धि ‘हातमा लाग्यो शून्य’ भनेझैं छ ।
फिल्म रिलिजका लागि निर्माता र प्रदर्शकबीच एमजीमा सहमति जुट्न सकेको छैन । निर्माताहरु विना एमजी फिल्म रिलिज गर्न तयार नहुनु र प्रदर्शकहरु निर्माताले मागे जति एमजीमा सहमत नहुँदा हल खुल्ने नै अनिश्चित बनेको थियो । तर, शनिवार बलिउड फिल्म ‘सूर्यवंशी’ ले तिहारलाई रिलिज डेट तोकेपछि आइतवार चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गरेको छ ।
आइतवार नेपाल चलचित्र संघका महासचिव अशोक शर्माको संयोजकत्वमा बसेको बैठकले १८ महिनादेखि फिल्म प्रदर्शन कार्य पूर्ण रुपमा बन्द भएकाले अब उप्रान्त २ हप्ताको अन्तरालमा फिल्म रिलिज गर्ने निर्णय गरेको छ । त्यस्तै, नेपाली फिल्मले तोकेको मितिमा विदेशी फिल्म प्रदर्शन नगरिने पनि संघको निर्णय छ । फिल्म रिलिजवापत निर्माताले पाउने शेयर पनि बढाइने भएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी र विदेशी फिल्मको शेयर बाँडफाँडको हकमा पहिलो हप्ता ५५ प्रतिशत शेयर रकम निर्माता÷वितरकलाई भुक्तानी गरिनेछ । दोस्रो हप्तामा ५०÷५० प्रतिशत हुनेछ ।’ पहिला फिल्म रिलिजको पहिलो हप्तामा निर्माताले ५० प्रतिशत र दोस्रो हप्ता ४५ प्रतिशत शेयर पाउने गरेका थिए । अब पहिलो र दोस्रो हप्ता ५÷५ प्रतिशत बढाइएको छ ।
यसपालीको दशैंलाई लक्षित गरेर अहिलेसम्म दुई फिल्मले मात्र प्रदर्शन मिति घोषणा गरेको छ । यही असोज २५ गते सविन श्रेष्ठको ‘धन्दागिरी’ र यसको भोलीपल्ट (असोज २६ गते) फूलपातीमा मल्टीस्टारर फिल्म ‘डाँडाको वरपीपल’ रिलिजको तयारीमा छ । तिहारमा प्रदर्शन हुन लागेको बलिउड फिल्म ‘सूर्यवंशी’ पछि भने नेपाली फिल्म रिलिज गर्न माहोल बन्ने आशमा फिल्मकर्मी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *