उपत्यकामा ७३ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाए

 


काठमाडौँ, १४ असोज । काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् । उनका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए ।
यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्णमात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् । भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसङ्ख्या रहेका छन् । सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।
यसैगरी, बुधबार एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । बुधबार थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १९३ पुगेको छ । उहाँका अनुसार ५०० बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० बढी सङ्क्रमित भएका जिल्ला १९ छन् । सो अवधिमा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । सङ्क्रमणका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको छ ।
हालसम्म सङ्क्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ । हाल देशभर ३५४ जना सघन उपचार कक्ष (आइसियु), ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेशन, एक हजार ३१५ जना संस्थागत आइसोलेशन र २४४ जना क्वारेन्टिनमा छन् । आज दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन् ।
उता, सुदूरपश्चिम प्रदेशमा बुधबार थप ३३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९८९ को नमूना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पच्चिस जनामा आरटी पीसीआर र आठ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, जिल्ला अस्पताल बैतडीमा चार, डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली, डोटी र अछाममा एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सो अवधिमा प्रदेशभर १७ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि हुँदा २१ जना सङ्क्रमणमुक्त भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *