पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा नेता सिंहको जोड

 


काठमाडौँ, १४ असोज । नेपाली कांग्रेस पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा नेता प्रकाशमान सिंहले जोड दिएका छन । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३२ ले बुधबार आयोजना गरेका ‘बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीको मौलिक सिद्धान्त बचाइराख्नका लागि काग्रेसभित्र पनि नेतृत्वका लागि लोकतान्त्रिक अभ्यास हुनु जरुरी भएको बताएका हुन ।
नेता सिंहले लोकतन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी रहेको उल्लेख गरेका छन । नेता सिंहले पदमा जानका लागि तीव्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले नेपाली काग्रेस पार्टीलाई अप्ठ्यारोमा पु¥याउने बताए ।
पूर्वमहामन्त्री सिंहले भने “पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाइराख्न नेतृत्वका लागि आवश्यक लोकतान्त्रिक अभ्यास हुनुपर्छ र कार्यकर्ताको चाहनाबमोजिम नेतृत्व परिवर्तनको आवश्यकता पनि पर्दछ ।” पार्टीभित्र परिवर्तनको पक्षमा आफू दृढताका साथ उभिने उनको भनाइ थियो । उनले नेपाली काँग्रेसले लोकतान्त्रिक रूपमा अघि नबढ्दा गएको आम निर्वाचनमा पार्टीले ठूलो पराजय भोग्नुपरेको स्मरण गरे ।
उनले आगामी महाधिवेशनमा कसैको प्रलोभनमा नपरी आन्तरिक लोकतान्त्रिक अभ्यासमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले आगामी महाधिवेशनले पार्टीलाई संस्थागत गर्ने सक्षम नेतृत्व छान्ने पनि बताए ।
यसैगरी, नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ ।
आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।
निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालले बताए । उनका अनुसार रौतामाईमा घमानसिंह मगर र लिम्चुङबुङमा नेत्रबहादुर कार्की पार्टी सभापतिमा विजय भएका छन । त्यस्तै जिल्लाको उदयपुरगढीमा यमबहादुर पाण्डे र ताप्लीमा दीपकुमार रासकोटी सर्वसम्मत रूपमा सभापतिमा चयन भएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *