सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान, संसद् सञ्चालन गर्ने तथा राजनीति विषयमा छलफल हुने

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन । उनले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएको प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताए । सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।
यसैगरी, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताएका छन । बुधबार लमजुङ बेँसीसहरमा आयोजित जनता समाजवादी पार्टी नेपाल सङ्गठन सुदृढीकरण तथा जागरण (सुज) अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उनले शेरबहादुर देउवाको नेतृत्वमा प्रतिगमनका विरुद्धमा बनेको पाँच दलीय गठबन्धन सरकार टिकाउनुपर्ने बताएका हुन ।
केही दिनअघि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भइसकेको र माधव नेपालसहित पाँच दलीय गठबन्धनको संसद्मा सरकार बनाउन बहुमत पुग्ने भएकाले अब केही दिनभित्रै सरकारले पूर्णता पाउने उनको भनाइ थियो । उनले फरक प्रसङ्गमा देशको हितमा एमसीसी रहेकाले लागू गर्नुपर्नेमा जोड दिए । विदेशी सहयोग लिएर मात्र देश बलियो बनाउन सक्ने चर्चा गर्दै उनले अहिले एमसीसी लागू गरेर देश विकास गर्दै बलियो बनाउनुपर्ने बताए । “हामी अहिले बलियो नहुँदा र गरिब देश हुँदा सबैलाई चिढ्याउने काम गर्नुहुँदैन, हात्तीसँग कुस्ती खेल्नु हुँदैन, बुद्धिले काम गर्नुपर्छ”, उनले भने, “अहिले विदेशीको सहयोग लिएर देश बलियो बनाउन सके लिपुलेकदेखि अमेरिकासँग पनि विभिन्न कुरा गर्न सकिन्छ ।”
लामो समयसम्म प्रमुख राजनीतिक दलले देश चलाए पनि विकास दिन नसकेकाले अब जसपा नै वैकल्पिक शक्ति रहेको उनले बताए । सङ्घीयता लागू भए पनि अझै पूर्णरूपमा सङ्घीयताको महसुस नभएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री भट्टराईले देशमा अझै गरिबी, दलित जनजाति, महिला पीडित नै रहेकाले यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *