६५ लाख २८ हजारले कोरोनाको पूर्ण खोप लगाए

काठमाडौँ, १० असोज । नेपालमा अहिलेसम्म ६५ लाख २८ हजार ३९२ ले पहिलो मात्रा र ६० लाख १४ हजार ९४१ जनाले कोरोनाको पूर्ण मात्राको खोप लगाइसकेका छन् । शनिबार कोरोना भाइरसविरुद्धको खोप दुई लाख १६ हजार ७२५ जनाले लगाएका छन् ।
शनिबार थप ९५३ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ५७९ जनामा कोरोना परीक्षण गर्दा ९५३ मा सङ्क्रमण देखिएको हो ।
हाल देशभर सक्रिय सङ्क्रमित १९ हजार ७०० छन् । पछिल्लो २४ घण्टामा एक हजार ३७१ ले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५९ हजार ८७५ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट शनिबार ६ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८७ को निधन भइसकेको छ । हाल देशभर ३६३ सघन उपचारकक्ष (आइसीयू), १०९ भेन्टिलेटर, १८ हजार ३४० होम आइसोलेशन, एक हजार ३६० संस्थागत आइसोलेशन र २३७ क्वारेन्टिनमा छन् ।
यसैगरी, शनिबार प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी ७७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सोही अवधिमा पालिकामध्येमा विराटनगरमा ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीमा ४८, झापामा ३०, धनकुटामा पाँच, खोटाङ र इलाममा दुई÷दुई, सङ्खुवासभा र पाँचथरमा एक÷एक तथा प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । सो अवधिमा ७२५ जनाको पिसीआर परीक्षण गर्दा १६९ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १५३ गरी कूल ३२२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै १५० महिलासहित २६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा शनिबार थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४४ जनाको नमूना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैमा पिसीआर विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । ती प्रादेशिक अस्पतालमा १८ र डडेल्धुरा अस्पतालमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ४१ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका २८ वर्षीय पुरुष छन् । यसअघि शुक्रबार यस प्रदेशमा ३४ जनामा सङ्क्रमण पुष्टि हुँदा सात जना निको भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *