देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्दता, सुशासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको दावी

 


बागमती, १० भदौ । देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ काम गर्न नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेको अध्यक्ष माधवकुमार नेपालले बताएका छन । एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको शनिबार हेटौँडामा सम्बोधन गर्दै उनले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता व्यक्त गरेका हुन ।
अध्यक्ष नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन ।
नयाँ पार्टी गफ दिएर होइन काम गरेर जनताको मन जित्ने असल बन्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गरे । देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार गठन हुने दाबीसमेत गरेका छन ।
सासंद एवं सो पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै विस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने विचार व्यक्त गरेका छन ।
अर्का केन्द्रीय सदस्य मुनु सिग्देलले पनि देशमा सुशासन कायम गर्न यो पार्टी खुलेको उल्लेख गर्दै यसमा युवा वर्ग बढ्दै गएको बताईन । पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न पार्टी त्याग गरेर आएका व्यक्तिलाई अध्यक्ष नेपालले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको अध्यक्षमा लालबहादुर थापा सर्वसम्मत चयन भएका छन । बागलुङ बजारमा शनिबार सम्पन्न भेलाले उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।कमिटीको उपाध्यक्ष केशर छन्त्याल चयन भएका छन । महिला उपाध्यक्षको पद खाली छ । सचिवमा भरत पुरी र उपसचिवमा चक्रबहादुर थापा चयन भएको निर्वाचन समितिका संयोजक श्रीप्रसाद शर्माले जानकारी दिएका छन ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेताहरूले एमाले पार्टीविरुद्धको विद्रोह बाध्यतात्मक परिस्थितिको उपज भएको बताएका छन् । नेकपा (एस)को जिल्ला भेला तथा कमिटी घोषणा कार्यक्रममा उनीहरूले कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन र एकीकृत गर्न चुनौतीपूर्ण बाटो रोजेको जनाए ।
पार्टी केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठले नेकपा (एमाले) दक्षिणपन्थी विर्सजन र राष्ट्रिय आत्मसर्मपणवादतिर गएकाले विद्रोहमार्फत नयाँ पार्टी गठन गर्नुपरेको बताए । “पार्टीभित्र सैद्धान्तिक, विचारधारात्मक र राजनीतिक समस्या देखियो”, उनले भने, “नवौँ महाधिवेशनका कार्यभारलाई नेतृत्वले पूरा नगरेपछि हामीले एमालेमा बसिरहनु उचित देखेनौँ ।”एमाले निर्माणमा जीवनकाल बिताएका, रगत, पसिना बगाएका नेता÷कार्यकर्ताका लागि पार्टी छोड्नुपर्दा पीडा भए पनि विकल्पविहीन स्थितिमा विद्रोहमा जानुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उनले कम्युनिष्ट आन्दोलनको पुनःनिर्माण र एकीकरणको जगमा समाजवादको लक्ष्यमा पुग्न नसकेमा नयाँ पार्टी निर्माणको औचित्य पुष्टि नहुने उल्लेख गरे ।
पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले एमालेसहित अन्य कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्दै नेकपा (एस)लाई श्रेष्ठता दिलाउनुपर्ने दायित्व आफूहरुमा आएको बताए । नयाँ पार्टी बनाउनु रहर नभई बाध्यता भएको उनको भनाइ छ । सदस्य श्रेष्ठले एमालेले कम्युनिष्ट सिद्धान्त र आदर्शलाई लत्याउँदै गएको आरोप लगाए ।
पूर्वऊर्जा राज्यमन्त्रीसमेत रहेका नेकपा (एस)का नेता रामजीप्रसाद शर्माले कमजोर हातले क्रान्तिको झण्डा उठाउन नसक्ने भन्दै आफूहरु समाजवादी क्रान्तिमा होमिएको बताए । नेता श्रीप्रसाद शर्माले वाम विचार राख्ने पार्टीहरु विकृत हुँदै गएकाले सिद्धान्तनिष्ठ कम्युनिष्ट पार्टी निर्माण र समाजवादी लक्ष्यका लागि नेकपा (एस)मा लामबद्ध हुन नेता, कार्यकर्तालाई आह्वान गरे । भेलाले लालबहादुर थापाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला किमिटी चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *