दि राइजिङ क्लब धरानसँग झरना स्पोर्ट्स क्लब रुपन्देही पराजित

पोखरा, ८ असोज । दि राइजिङ क्लब धरानसँग झरना स्पोर्ट्स क्लब रुपन्देही पराजित भएको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा ५–३ ले पराजित गर्दै दि राइजिङ लिगको शीर्ष स्थान कायम गरेको छ । बुधबार दि राइजिङ क्लब धरानले लगातार तेस्रो जित निकालेको हो ।
राइजिङले यसअघि स्काई गोल्स र प्रभातफेरी युथ क्लबलाई पराजित गरेका थियो । दि राइजिङको जितमा मिलन राईले दुई तथा रेवोस मास्के, बिकु तामाङ र मिलन लिम्बुले समान १–१ गोल गरे । झरनाका मोहन बहादुर थापा मगर, ओम प्रकाश थापा र विवेक थापाले गोल गरेपनि हार टार्न सकेनन् ।
लिगमा निकै कम्जोर देखिएको झरनाले पहिलो हाफ निकै उत्कृष्ट खेल खेलेपनि दोस्रो हाफमा भने गतिलो प्रदर्सन गर्न सकेन । खेलको नवौं मिनेटमा राइजिङका मिलन राइले गोल गर्दै अग्रता दिलाए । त्यसको २ मिनेटमा नै झरनाका मोहन बहादुर थापाले गोल गर्दै खेल बराबरीमा ल्याए । यसअघि दुइ खेलमा हार व्यहोरेको झरनाले सुरुवाती खेलहरुमा झै गल्ती गर्दा हार बेहोर्न बाध्य भएको हो । झरनाका खेलाडीमा शक्तिको कमि देखियो । उनीहरु पहिलो हाफमा झैँ चलेर खेल्न नसक्दा हार व्यहोर्न बाध्य भए । झरना भने तालिकाको पुछारमै रहेको छ ।
खेलको २२ औं मिनेटमा रिवोस मास्केले गोल गर्दै राइजिङको अग्रता दोब्बर पारे । मास्के लिगको सर्वाधिक गोलकर्ता समते कायमै रहे । उनले समग्रमा ६ गोल गरिसकेका छन् । मास्के खेलको म्यान अफ दी म्याच घोषित भए । २६ औं मिनेटमा विकु तामाङले टोलीका लागि तेस्रो गोल गरे ।
खेलको २७ औं मिनेटमा झरनाका कप्तान ओम प्रकास थापाले अग्रता घटाउने काम गरे । २८ औं मिनेटमा मिलन लिम्बुले राइजिङका लागि चौथो गोल गरे भने २९ औं मिनेटमा मिलन राइले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरे । खेलको ३५ औं मिनेटमा झरनाका विवेक थापाले एक गोल गरे ।
राइजिङका रेवोस मास्के प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे । लगातार तेस्रो जितसँगै राइजिङ ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लिगमा अंकविहिन झरनाको यो लगातार तेस्रो हार हो ।
यस्तै जेनिस प्रजापतिले ह्याट्रिक पूरा गरेपछि प्रभातफेरी युथ क्लबलाई ७–४ ले पराजित गर्दै शंखमुल फुटसलले लिगमा पहिलो जित दर्ता गरेको छ । शंखमुलका लागि मणि लामाले दुई गोल तथा गोलरक्षक अनिश श्रेष्ठ र सुसान श्रेष्ठले १–१ गोल गरे । प्रभातफेरीका सृजन पुरी र धिरज जोशीले समान दुई गोल गरे ।
शंखमुलले खेलको सुरुवातदेखि नै प्रभातफेरीलाई निकै दबाबमा राख्यो । मणि लामाले ५ औं मिनेटमा गोल गर्दै शंखमुललाई अग्रता दिलाए । ७ औं मिनेटमा जेनिस प्रजापतिले गोल गरे । ८ औं मिनेटमा प्रभातफेरीका श्रीजेश पुरीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । धिरज जोशीले नवौं मिनेटमा बराबरी गोल गर्दै टोलीलाई पुनरागमन आस दिलाएका थिए । तर, जित भने हात पार्न सकेन ।
खेलको १६ औं मिनेटमा कप्तान तथा गोलरक्षक अनिशले गोल गर्दै पुनः शंखमुललाई अग्रता दिलाए । उनले आफ्नो क्षेत्रमा आएको आक्रमणलाई विफल पार्ने क्रममा गरेको स्लाइडीङ क्लिअरेन्स अर्को पोस्टमा सिधै गोल भएको थियो । १८ औं मिनेटमा मणि लामाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए । यस्तै प्रभातफेरीले पुनः लय समात्दै खेलमा फर्कने कोसिस गर्यो ।
धिरज जोशीले २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बराबरीमा ल्याएपनि त्यो खुसी भने क्षणिक मात्रै रह्यो । गोल पश्चात बल चलाए लगत्तै शंखमुलका सुसानले गोल गरे । २४ औं मिनेटमा श्रीजेशले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको आसा जिवितै राख्ने काम गरे । तर, खेलको २९ र ३४ औं मिनेटमा जेनिसले शंखमुलका लागि गोल गर्दा ह्याट्रिक पुरा गरे । ३३ औं मिनेटमा प्रभातफेरीका विवेक सारु मगरले दोहोरो पहेंलो कार्ड खादै रेडकार्ड पाएर मैदान छाडे । लिगमा यो पहिलो रातो कार्ड हो ।
शंखमुलका मणि लामा प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे । यो जितसँगै अपराजित रहेको शंखमुलले ३ खेलमा ५ अंक जोडेको छ । पराजित प्रभातफेरीले जित निकाल्न सकेको छैन ।
लिगमा बिहीबार तीन खेल हुने लिग संयोजक विनोद गुरुङले जानकारी दिए । स्काई गोल्स र सविन मेमोरियल, स्पोर्ट्स क्यासल र ढुकु तथा लुम्बिनी फुटसल र फुटसल फाइभबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार पाउनेछन् । लिगबाट एशियाली फुटबल महासंघ (एएफसी) द्धारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *