५८ लाख ६० हजारले कोरोनाको पूर्ण खोप लगाए


काठमाडौँ, ८ असोज । नेपालमा अहिलेसम्म कोरोनाको पहिलो मात्रा ६२ लाख ९३ हजार ८९ र पूर्ण मात्रा खोप ५८ लाख ६० हजार ९२९ जनाले लगाइसकेका छन् । बिहीबार एक लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् ।
बिहीबार एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २० हजार ७४३ जना छन् । त्यस्तै ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । अहिले ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६ प्रतिशत छ ।
सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ । हाल देशभर ३४० सघन उपचार कक्ष, १११ भेन्टिलेटर, १९ हजार ४३७ होमआइशोलेसन, एक हजार ३३४ संस्थागत आइशोलेसन र २४६ जना क्वारेन्टिनमा छन् ।

यसैगरी, बिहीबार प्रदेश नं १ मा २८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बिहीबार पनि सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ३१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ । सो अवधिमा मोरङमा ५४, सुनसरीमा २४, इलाममा छ, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *