नेकपा एकीकृत समाजवादीको ७१ सदस्यीय पोलिटब्युरो गठन

काठमाडौं,८ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको सो पार्टीले जनाएको छ । बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका छन् ।
त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहेका छन् । महासचिवमा डा.बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल छन् । त्यसैगरी चार जनाले सचिवको जिम्मेवारी पाएका छन् । जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।
सबै प्रदेश तथा जिल्ला इञ्चार्जसमेत तोक्नुका साथै केन्द्रीय कमिटीबाहेक सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको छ । बैठकले ‘तत्कालीन कार्ययोजना’ २०७८ पारित गरेको छ । तीन महिनाभित्र सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको छ ।
पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन् । केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको सो पार्टीले जनाएको छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाइ छलफल भएको थियो । बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल भएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले बताईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *