५५ लाख ८८ हजारले कोरोना विरुद्धको पूर्ण खोप लगाए

 


काठमाडौँ, ५ असोज । कोरोना विरुद्धको पूर्ण खोप ५५ लाख ८८ हजार ५१७ जनाले लगाएका छन । अहिलेसम्म ६२ लाख १५ हजार ८५६ जनाले पहिलो मात्राको खोप लगाएका छन । सोमबार २२ हजार १९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सोमबार एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ८१७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत छ । यस्तै सक्रिय सङ्क्रमित २२ हजार ३२३ जना छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । सोमबार दुई हजार ९५७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ५२ हजार १७० सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.८ प्रतिशत छ ।
सङ्क्रमणबाट सोमबार आठ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ४८ जनाको मत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३७२.४ जनाको सङ्क्रमितको मत्यु भएको छ । यस्तै मन्त्रालयका अनुसार ३७१ जना सघन उपचार कक्ष (आइसियु), १०८ जना भेन्टिलेटर, २० हजार ८९१ जना होम आइसोलेशन, एक हजार ४३२ जना संस्थागत आइसोलेशन र २६४ जना क्वारेन्टिनमा छन् ।
यसैगरी, सोमबार प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको छ । यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सोही अवधिमा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३ मध्ये विराटनगरमा १७, इलाममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा सोमबार २७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा सोमबार थप ५३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार १५ जनाको नमूना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अड्तीसमा पीसीआर र १५ मा एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३६ र महाकाली अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा १२, दार्चुलाका दुई र डडेल्धुराका एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
सोमबार प्रदेशभर १९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको सुर्मा गाउँपालिका–४ का ५० वर्षीय पुरुष र सोही गाउँपालिकाका ४० वर्षीय पुरुष रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *