नेपालसँग ओमन सात विकेटले पराजित

 


काठमाडौँ, ४ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले ओमनलाई सात विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गराएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा जितको लागि १२२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएको थियो । एकदिवसीय क्रिकेटमा नेपालले ओमनलाई पहिलो पटक पराजित गरेको हो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनको योगदान दिएका हुन् । युवा ओपनर आसिफ शेख ४४ बलमा ७ चौका सहित ४० रनमा अविजित रहे । नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरे । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुसल ६ रनमा बाहिरिँदा रोहितकुमार पौडेल पनि ६ रनमा नै आउट भए । त्यस्तै शरद् भेषावकर विजयी रन बटुल्दै एक रनमा अविजित रहे । ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनले ३७ ओभर दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटिएको थियो । ओमनका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन् । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए । सन्दीप गौडले ८ तथा आयन खानले ७ रन जोडदा सुफ्यान मेहमुद र मोहमद नदीमले ४÷४ रन जोडे । कालिमउल्लाह ११ रनमा अविजित रहदाँ बिलाल खानले ९ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्नेक्रममा तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करण र सन्दीपले ४÷४ विकेट लिए भने शरद भेषवाकरले २ विकेट लिए । सन्दीपले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका हुन । त्यस्तै करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिन सफल भए । शरद्ले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिएका हुन् । यस जितसँगै नेपालले सिरिजको सुखद् अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोरे । सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल ओमनसँग ५ विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
ओमानलाई हराएपछि नेपाल लिग–२ को चौथो स्थानमा उक्लिएको छ । नेपालले ८ खेलमा ८ अङ्क जोडेको छ । ओमन १३ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । नामिबिया ७ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा छ । युएई ७ खेलमा ७ अङ्क जोड्दै छैटौँ स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा नै हारका साथ अङ्क विहीन हुँदै अन्तिम स्थानमा छ ।

यसैगरी, नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ तथा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल प्रबल जनसेवाश्री तथा अन्य खेलकर्मीहरु संविधान दिवसको अवसरमा विभिन्न पदकबाट विभूषित हुने भएका छन् ।
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा राष्ट्रको हितमा विभिन्न क्षेत्रबाट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने प्रचलन रहेको छ । यसपटक ९ सय ३ जना विभूषित हुँदा झन्डै डेढ दर्जन खेलकर्मीको नाम पनि सुचिमा समावेश गरिएको छ ।
गृह मन्त्रालयले निकालेको सुची अनुसार कप्तानद्वय मल्ल र चेम्जोङ प्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका हुन् । यसबाहेक क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै तेक्वान्दोका आयशा शाक्य र दक्षिण कोरियाली प्रशिक्षक क्वान योङ दाल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् । महिला भलिबलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठानसँगै पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि यसै विभूषणबाट सम्मानित हुनेछन् ।
तेक्वान्दोकै लक्ष्मण बहादर ऐर नेपाल प्रताप आभूषणबाट तथा १० अन्य खेलकर्मी सुकीर्ति पदकबाट विभूषित हुनेछन् । विभूषण भने वैशाखमा प्रदान गरिने बुझिएको छ ।
यसैगरी, नेपालको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई र टि२० आई दुवै विश्व वरियता खस्किएको छ ।आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियतामा नेपालले एक स्थान खस्कदै १६ औं स्थानमा पुगेको छ । नेपालको ७ खेलमा २ सय ७२ प्वाइन्ट र ३० रेटिङ अंक छ । ओमानले भने एकै पटक तीन स्थान सुधार गर्दै १३ औं स्थानमा उक्लिएको छ । नेपालभन्दा अघि स्कटल्यान्ड १५ औं, जिम्बावे १४ औं, आयरल्यान्ड १२ औं र नेदरल्यान्ड्स ११ औं स्थानमा छन् । नेपाल भन्दापछि यूएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं र पपुपा न्युगिनी २० औं स्थानमा छन् । न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा छन् ।
नेपाल टि२० आई वरियतामा पनि एक स्थान खस्कँदै १४ औं स्थाानमा पुगेको छ । नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । टि२० आई वरियतामा इंग्ल्यान्ड शीर्ष र भारत दोस्रो स्थानमा छ । ओमान भ्रमणमा रहेको नेपाल ओमान र अमेरिकासँग पराजित भएपछि ओडिआई वरियता खस्केको हो ।
नेपालले पपुवा न्युगिनीसँगको दुई ओडिआई सिरिज २–० ले जितेको थियो । पहिलो खेलमा पपुपा न्युगिनीलाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा १ सय ५१ रनको फराकिलो अन्तरको जित निकालेको थियो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाल दोस्रो खेलमा ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । नेपालले टि२० आई खेल भने अन्तिम पटक गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *