राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौँ, ४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगाएतले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको अवलोकन गरेका छन ।
जात्रा अवलोकन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शार्मालगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि सहभागी रहेका थिए । जात्राका अवसरमा राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएकी थिईन । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आइतबार मुख्य दिन हो । आइतबार तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । सोमबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।
असोज ८ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार जानु भई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।
असोज ८ गते राति १०ः३६ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।
वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको आइतबार विधिपूर्वक पूजाआज पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दश अवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *