नेपालमा कोरोना निको हुनेदर ९५.४ प्रतिशत

काठमाडौँ, ३ असोज । नेपालमा कोरोना निको हुनेदर ९५ दशमलव चार प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार एक हजार २३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ ।
शनिबार थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ८३ हजार ९१० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ८८ हजार ८९० रहेको छ ।
हाल नेपालमा २३ हजार ६३६ जना होमआइसोलेशन, एक हजार ४४६ संस्थागत आइसोलेशनमा रहेका छन् । त्यसैगरी ३८९ आइसीयू र १२१ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६३६ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २४६ रहेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्युदर १.५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ७० हजार ३१७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, शनिबार प्रदेश नं १ को झापामा सबैभन्दा बढी ९० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सो अवधिमा सुनसरीमा २७, मोरङमा २२, इलाममा छ, धनकुटामा तीन, भोजपुरमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।प्रदेशभरमा २१६ जनामा कोरोना सङ्क्रमण भएकामा ५३१ को पिसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ को रिपोर्ट पोजेटिभ पुष्टि भएको बताइएको छ । स्थानीय तहअनुसार सबैभन्दा बढी झापाको दमकमा १९, सुनसरीको धरानमा १९ र बिर्तामोडमा १६ जना सङ्क्रमित भएका छन् ।
झापाकै अर्जुनधारामा १३, कनकाईमा १२, शिवसताक्षीमा ११, मेचीनगर र भद्रपुरमा छ÷छ, बाह्रदशी र बुद्धशान्तिमा दुई÷दुई, कचनकवल, कमल गाउँपालिका र झापा गाउँपालिकामा एक÷एक गरी १२ वटा पालिकामा कोरोना सङ्क्रमित भएका छन् ।
यस्तै सुनसरीको इटहरीमा चार, देवानगञ्ज, बराहक्षेत्र, दुहवी र इनरुवामा एक÷एक, मोरङको विराटनगरमा १५, बूढीगङ्गामा तीन, उर्लाबारीमा दुई, कटहरी र सुनवर्षीमा एक÷एक, इलामको इलाम नगरपालिका, सूर्योदय र माईमा दुई÷दुई, धनकुटाको धनकुटा नगरपालिका, छथर जोरपाटी र पाख्रिबासमा एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा शनिबार २८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा महिला र पुरुष बराबर छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९२७ जनाको नमूना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
छयालीसमध्ये ४४ जनामा पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा ३८ र डडेल्धुरा अस्पतालमा छ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यस्तै शनिबार प्रदेशभर १९ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको पुर्नवास नगरपालिकाका ५० वर्षीय पुरुष रहेका छन् । यसअघि शुक्रबार सुदूरपश्चिमका ३० जनामा सङ्क्रमण पुष्टि हुँदा १८ डिस्चार्ज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *