असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने एमसिसीभन्दा पाँच दलीय गठबन्धन महत्वपूर्ण रहेको दाबी

काठमाडौँ, ३ असोज । असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बताएका छन । शनिबार जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४÷५ गतेभित्र सरकारले पूर्णता पाउने बताएका हुन । उनले सरकार विस्तार बाहिर हल्ला भएजस्तो जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीका कारण नअड्किएको बताए ।
प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)भन्दा महत्वपूर्ण पाँच दलीय गठबन्धन रहेको उल्लेख गर्दै उनले आफूहरूका लागि एमसिसीभन्दा गठबन्धन नै महत्वपूर्ण रहेको बताए । उनले भने, “लोकतन्त्र, गणतन्त्र, संविधान र राष्ट्रका लागि यो गठबन्धन बनेको हो । एमसिसीका कारण गठबन्धन फुट्दैन ।”
उनले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए । अघिल्लो सरकारका अर्थमन्त्रीले एमसिसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको ‘प्रचण्ड’को भनाइ थियो । उनले एमसिसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताएका छन ।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देश र जनताको पक्षमा इमानदारिताका साथ काम गर्ने पार्टी नै माओवादी भएकाले आगामी निर्वाचनमा पहिलो नम्बर बन्ने बताएका छन । सो पार्टीको चन्द्रागिरि–१ ले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, सिद्धान्त र कार्यक्रमका हिसाबले पनि समकालीन अरु दलभन्दा आफूहरू नै क्रान्तिकारी र अग्रगामी भएको बताए । उनले समाजवाद स्थापनाको लक्ष्यसहित एमालेसँग आफूहरुले एकता गरे पनि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जताततै समस्या खडा भएको उल्लेख गरे ।
माओवादीले अगाडि सारेका नीति तथा कार्यक्रमलाई लिएर जनताको पक्षमा जान र उनीहरुको दुःख, पीरमर्कामा साथ दिन पार्टीका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । अन्य पार्टीमा अनेकन खालका विग्रह र टुटफुटको अवस्था रहेको भन्दै नेता पौडेलले देश र जनताको पक्षमा उभिने तथा कोही कसैसँग पनि गलत सम्झौता नगर्ने भएकाले माओवादीले पुनः देशव्यापी विजयको झण्डा फहराउने विश्वास व्यक्त गरे ।
नेता पौडेलले विचार, सिद्धान्तसहित अध्यक्ष प्रचण्डको नेतृत्वमा एकाकार भई पार्टीका सबै नेता तथा कार्यकर्ता जनतामा जाने सङ्कल्प गर्नासाथ विजय टाढा नभएको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य रुपा महर्जनले काठमाडौँ उपत्यकासहित देशभरको लोडसेडिङ माओवादी नेतृत्वमा नै अन्त्य भएको, सबैको हात–हातमा इन्टरनेट तथा विकास निर्माणको जग बसाएको जस्ता सकारात्मक विषयलाई आम जनतामाझमा लैजानुपर्नेमा जोड दिए । उनले माओवादीमात्रै देश र जनताको हित गर्ने पार्टी भएकाले आफूहरुलाई जनताले पुनः विश्वास गर्ने बताए । कार्यक्रममा गणेश गिरीको अध्यक्षतामा माओवादी केन्द्रको वडा समिति गठन गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *