शतप्रतिशत अकुपेन्सीसहित देशैभरका सिनेमा हल खोल्न माग

काठमाडौं, ३० भदौ । फिल्म वितरक तथा हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले शतप्रतिशत अकुपेन्सीसहित देशैभरका सिनेमा हल खोल्न माग गरेको छ । शतप्रतिशत अकुपेन्सीसहित सरकारले अनुमति नदिएसम्म तीन जिल्लाका मात्र हल नखोल्ने निर्णय संघले गरेको छ ।गत वर्ष ९ महिना बन्द भएर खुलेका सिनेमा हल कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै तीन महिनामै बन्द भयो । पछिल्लो समय संक्रमण दर कम हुँदै गएपछि सरकारले गत हप्ता स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० प्रतिशत अकुपेन्सीमा तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । तर, हल भने अझै खुलेका छैनन् । जसले गर्दा नजिकिँदै गरेको दशैंमा पनि सिनेमा हल नखुल्ने होकि भन्ने आशंका उब्जिएको छ । किनकि, फिल्म रिलिजका लागि दशैं विदा सबैभन्दा राम्रो मानिन्छन् ।
सरकारले देशैभरका सिनेमा हल खोल्न अनुमति दिएपछि दशैं–तिहार वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्ने विषयमा चलचित्र संघले यतिबेला विभिन्न फिल्मका निर्मातासँग छलफल गरिरहेको छ । महिनामा २ वटा मात्रै नेपाली फिल्म रिलिज गर्ने र विदेशी फिल्मसँग नजुधाउने गरी यही दशैंमा ‘म यस्तो गीत गाउँछु २’ र तिहारमा ‘चपली हाइट ३’ रिलिज गर्ने तयारीमा चलचित्र संघ छ ।
‘चपली हाइट ३’ का निर्माता अर्जुन कुमारले तिहारमा फिल्म रिलिजका लागि चलचित्र संघसँग निरन्तर छलफल भइरहेको बताए । उनले भने, ‘फिल्म कहिले लगाउने भनेर चलचित्र संघलाई निर्णय गर्ने जिम्मा दिएका छौं । संघले जहिले भन्छ त्यही दिन फिल्म रिलिज हुन्छ । त्यसका लागि हामीले केही ‘एमजी’ डिमान्ड गरेका छौं त्यो पूरा भयो भने फिल्म रिलिज गर्ने जोखिम उठाउँछौं ।’
त्यस्तै, ‘म यस्तो गीत गाउँछु २’ का वितरक करण श्रेष्ठले दशैंमा फिल्म रिलिज गर्ने प्रस्तावमाथि चलचित्र संघमा छलफल भइरहेको बताए । उनले भने, ‘दशैं वा त्यसपछि कुन फिल्म रिलिज गर्ने भन्नेमा निर्णय हुन बाँकी छ । यद्यपि, दशैंमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने प्रस्तावमा छलफल भइरहेको छ । केही हदसम्म लगानी सुरक्षित हुने ‘एमजी’ मिलेको खण्डमा फिल्म रिलिज हुन्छ ।’
कोरोनाका कारण लामो समय सिनेमा हल बन्द हुँदा निर्माण सकिएका दर्जनौं फिल्ममाथि भएको अर्बौंको लगानी फ्रिज भएको छ । सरकारले हल खोल्न अनुमति दिएपछि गत हप्ता ‘ए मेरो हजुर ४’ ले चैत २५ गते र ‘लप्पन छप्पन २’ ले फागुन १३ गतेलाई रिलिज डेट घोषणा गरेको छ । तर, तत्काल फिल्म रिलिज गर्न निर्माताहरु वितरक र हल व्यवसायीबाट राम्रो ‘एमजी’ को आशमा छन् ।
यसैगरी, सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाको समुहमा छायांकनको अनुमति दिएसँगै फिल्म निर्माण हुने क्रम विस्तारै बढेको छ । यसैक्रममा आइतवारबाट फिल्म ‘चिठ्ठी’ को छायांकन सुरु भएको छ । काभ्रेको दोलालघाटमा मुहूर्त गर्दै फिल्मको दृश्य खिच्न सुरु गरिएको हो । माधवराज खरेलले निर्देशन गरिरहेको फिल्मको दोलालघाटपछि काठमाडौंमा छायांकन हुनेछ ।
सस्पेन्स कमेडी कथामा बन्ने फिल्ममा सन्जित भण्डारी मुख्य नायकको भूमिकामा छन् । फिल्म ‘लम्फू’ बाट अभिनय करिअर सुरु गरेका उनले गत महिना साउनमा फिल्म ‘आँधी तुफान २’ को छायांकन पूरा गरेका थिए । ‘चिठ्ठी’ मा उनको जोडी नव–अभिनेत्री कन्चन चालिसेसँग बाँधिएको छ । फिल्ममा आफ्नो भूमिका सशक्त रहेको र दर्शकलाई फरक र नौलो लाग्ने उनको विश्वास छ ।
कमला जोशी र राजन थापाको संयुक्त निर्माण रहने यस फिल्ममा श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, शान्ति प्रिय, गोपाल ढकाल ‘छन्दे’, खड्ग बहादुर पुन मगर, मुस्कान लामा, पुष्कर राउत, अस्मिन कार्की लगायतका कलाकारहरुको पनि अभिनय देख्न पाइनेछ । यसै वर्ष प्रदर्शनको लक्ष्य राखिएको फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्देशक खरेलले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *