त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा ओमानसँग नेपाल पराजित


काठमाडौं, ३० भदौ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । मंगलबार ओपनर जतिन्दर सिंहको शतकमा ओमानले नेपालमाथि ५ विकेटको सानदार जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको विष्फोटक शतकीय इनिङ खेल्दै सहज जित दिलाए । जतिन्दरले कुशल मल्ललाई चौका प्रहार गर्दै ६० बलमा शतक प्रहार गरेका थिए । जतिन्दर ओमानबाट ओडिआईमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । त्यस्तै मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । उनले विक्रम सोबलाई छक्का प्रहार गर्दै खेल सकाएका थिए ।
त्यसअघि जतिन्दरले आक्रामक ब्याटिङ गर्दै दोस्रो इनिङको सुरुवातदेखि नै ओमानलाई बलियो स्थितिमा पुर्याएका थिए । दोस्रो ओभरमा तीव्र गतिका बलर विक्रम सोबले दुई चौका र १ छक्का सहित कुल १८ रन खर्चेका थिए । पाँचौं ओभरमा सोमपाल कामीलाई जतिन्दर सिंहले ३ चौका र ३ छक्का सहित एकै ओभरमा ३० रन प्रहार गरेका थिए । आठौं ओभरमा करणले २० रन खर्चेका थिए । ओमान सामू नेपाली बलर निरिह सावित बने ।
चौथो ओभरको चौथो बलमा तीव्र गतिका बलर करण केसीले सोहिब खानलाई विनोद भण्डारीबाट ७ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । स्पिनर सुशान भारीले ११ औं ओभरको चौथो बलमा अयान खानलाई १८ रनमा आसिफ शेखबाट क्याच आउट गराए । खानले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
जिशान मकसुदलाई स्पिनर कुशल मल्लले ४ रनमा आसिफबाट क्याच गराउँदै ओमानको रनको गति कम गराएका थिए । जतिन्दरलाई कुशल मल्लले २६ औं ओभरको तेस्रो बलमा रोहितबाट क्याच गराउँदै पेभिलिएन फर्काएका थिए । नेपाली मुलका विकेटकिपर सुरज कुमार १६ बलमा ४ चौका सहित २० रनमा क्याच आउट भए ।
सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित ३८ रन खर्चिदा विकेट लिन सकेनन् । विक्रम सोबले २.१ ओभरमा २९ रन खर्चे । कुशल मल्लले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । करणले ५ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । सुशान भारीको नाममा एक विकेट रह्यो ।
त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । आसिफ बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ३६ औं ओभरको तेस्रो बलमा तीव्र गतिका बलर बिलाल खानले योर्कर बलमा बोल्ड गरेपछि आसिफ करिअरको पहिलो शतक बनाउनबाट १० रनले चुकेका थिए । त्यसअघि आसिफले ६४ बलमा आफ्नो ओडिआई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।
आसिफले दोस्रो ओभरको चौथो बलमा खाता नखोल्दै जीवनदान पाएका थिए । कलिमुल्लाह बलमा मोहम्मद नदीमले क्याच ड्रप गरेपछि आसिफ डक आउट हुनबाट बचेका थिए । जुन जीवनदान ओमानलाई भारी पर्यो । नेपालले खाता नखोल्दै ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको दोस्रो बलमा कुशल विकेटकिपर सुरज कुमारबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।
कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए । मोहम्मद नदीमको बलमा ज्ञानेन्द्र नेस्टर धम्बाबाट क्याच आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले ५८ रनको साझेदारी गरेका थिए । त्यसपछि कुनैपनि ब्याट्सम्यानले राम्रो साझेदारी र प्रदर्शन गर्न सकेनन् । रोहित कुमार पौडेल ३४ बलमा २० रनमा क्याच आउट भए । स्पिनर नेस्टर धम्बाको बलमा विकेटकिपर विनोद भण्डारी ६ रनमा जतिन्दर सिंहबाट क्याच आउट भए ।
सोमपाल कामी ७ रनमा रन आउट भएका थिए । ३४ औं ओभरको अन्तिम बलमा बिलाल खानले कुशल मल्ललाई ४ रनमा बोलड आउट गरेपछि नेपालको ठूलो योगफलको सम्भावना सकिएको थियो । कुशल यसअघिका तीनै खेलमा एक एक रनमा आउट भएका थिए । कुशल आउट हुँदा नेपाल १४६–६ को कमजोर अवस्थामा पुगेको थियो ।
विक्रम सोबलाई बिलाल खानले दुई रनमा बोल्ड आउट गर्दै नेपालमाथि पूर्ण रुपमा ओमानलाई हाबी बनाए । सन्दीप लामिछाने १० बलमा १ चौका र १ छक्का सहित १६ रनमा रन आउट भए । करण केसीले तल्लोक्रममा ४८ बलमा १ चौका र १ छक्का सहित २१ रनमा आउट भए । अन्तिम विकेटका लागि करण र सुशान भारीले २३ रनको साझेदारी गरेका थिए ।
ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा १ मेडन सहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नेस्टर धम्बाले दुई र मोहम्मद नदीम र कप्तान जिशान मकसुदले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा भदौ १७ मा अमेरिकासँग खेल्ने छ । ओमानले भदौ १६ मा अमेरिकासँग खेल्ने छ ।
विश्वकप लिग–२ अंक तालिका
ओमान ११ खेलमा ९ मा जित र २ मा हार सहित १९ अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्ध भएको थियो । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंक सहित चौथो स्थानमा छ । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै पाँचौं स्थानमा छ । एक खेल रद्ध हुन पुगेको थियो । नेपाल ६ खेलमा ३ मा जित र ३ मा हार सहित ६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमानै हारका साथ अंक विहिन हुँदै पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *