छोराको हत्या गर्ने दम्पत्ति पक्राउ

 

रुपन्देही, ३० भदौ । गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो ।
शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुरज मल्लाहलाई घाटी रेटी हत्या गरेको खुलेकोे छ ।
मृतकको परिवारमा जग्गासम्बन्धी विवादको कारणले दैनिक कलह झै झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घटनास्थलको अवलोकन गर्ने क्रममा निजको घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको थियो । मल्लाह दम्पत्ति सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको थियो । बिस्तारामा, विद्युत्को स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ ।
मृतक शिशुका आमा–बुबाले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरि सकेको प्रहरीले जनाएको छ । मृतक शिशुका आमा–बुबालाई कर्तव्य यान मुद्दामा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *