क्षमा पूजा गरेपछि आजबाट पशुपतिनाथ मन्दिर खुला

काठमाडौँ, २५ भदौ । पशुपतिनाथको मूल मन्दिर नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गर्नुपरेकामा माफी माग्दै क्षमा पूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा बिहीबार क्षमा पूजा गरेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको हो । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
शुक्रबार बिहानदेखि मन्दिर खोल्न बुधबार नै सुरक्षा समितिको बैठक बसी तयारी गरिएको उनले सुनाए । साढे चार महिनापछि खुल्न लागेको मन्दिरमा भक्तजनलाई सहज तरिकाले दर्शन गराउन आवश्यक सबै तयारी गरिएको कोषले जनाएको छ ।
विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखिमात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ ।
कोरोना महामारीका कारण विसं २०७७ र २०७८ साउन एवं हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको छ । शुक्रबारदेखि पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिने कोषले जनाएको छ ।
यसैगरी, कोरोना कहरका कारण यसपाली हिन्दू नारीको महान पर्व तीजको रौनक सामाजिक सञ्जालमा मात्र सीमित बनेको छ । महिलाहरुले नाचेको भिडियोको पोस्टले फेसबुक र टिकटक भरिभराउ छन् तर भौतिक रुपमा कार्यक्रम भने भएका छैनन् । विगतमा तीज आउन महिना दिन बाँकी रहँदै गाउँदेखि शहरसम्म तीजका गीत गुञ्जिसक्थे । सामूहिक रुपमा भेला भएर रातो पहिरनमा नाचगान गरेर र दर खाएर महिलाहरु रमाइरहेका हुन्थे । यसपालि भने तीजमा रमाइलो गर्ने चलन कोरोना महामारीले ठप्प पारेको छ । “तडकभडक र विकृति बढ्यो भनेर बिगतमा खुब आलोचना हुन्थ्यो,” नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सुभद्रा भट्टराई वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै भनिन–“भेटघाट नै कम गर्नुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने विषम परिस्थितिले गर्दा यसपालीको तीजमा दिदीबहिनीहरुले सामाजिक सञ्जालमा मनका बह पोखेर चित्त बुझाउनु पर्ने भएको छ ।”कोभिड–१९ को नयाँ भेरियन्ट आइरहेको र सामूहिक जमघटलाई निरुत्साहित गर्नुपर्ने बाध्यताले तीज प्रभावित भएको जनाउँदै उनले मानिसको जीवनभन्दा चाडपर्व ठूलो नभएको बताईन । उनले भनिन “पहिला आफू बाँचौँ र अरुलाई बचाऔँ, जीवन रहे अर्को साल तीजमा नाचौँला र रमाउँला ।” रेडियो र टिभीमा नयाँदेखि पुराना चल्तीका गीत सुनेर महिलाहरुले यसपाली चित्त बुझाइरहेका छन् । भिन्न जाति र भूगोलका नेपाली महिलाले तीजलाई साझा रुपमा मनाउँछन् । तीजमा महादेवको ब्रत बस्ने र आफ्ना प्रियजनको सुस्वास्थ्य एवं दीर्घायूको कामना गर्ने चलन छ । विवाहिता नारी तीजमा माइतीघर पुग्ने र दुःख सुखका अनुभूति साट्ने गर्दछन् । गीतको माध्यमबाट मनका पीरमर्का सुनाउने र साथीसंगीसँग मिलेर उल्लासपूर्वक नाचगान गर्ने चलनले तीजलाई विशेष बनाएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *