एमसिसी अनुदानमा सैनिक अंश नरहेको र नेपालको संविधानभन्दामाथि नरहेको उपाध्यक्ष सुमारको दावी

काठमाडौँ, २५ भदौ । अमेरिका मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)मा सैनिक अंश नरहेको र नेपालको संविधानभन्दामाथि नरहेको अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले दावी गरेकी छिन ।

बिहीबार नेपाल भ्रमणमा आएकी सुमारले बिहीबार एक विज्ञप्ति जारी गरीे एमसिसी अनुदानमा सैनिक अंश नरहेको तथा सम्झौताले नेपालको सार्वभौमिकतामा अवरोध नगर्ने र नेपालको संविधानभन्दामाथि सम्झौता नरहेको दावी गरेकी हुन ।

उपाध्यक्ष सुमार मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा सैन्य अंश नभएको प्रस्ट्याउन नेपाल भ्रमणमा आएको बताईएको छ । काठमाडौँस्थित अमेरिकी राजदूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने रु ५५ अर्बको उक्त कार्यक्रमलाई गतिदिन चाल्नुपर्ने भावी कदमबारे विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग छलफल गर्न नेपाल आएको बताएको छ ।

“अर्थमन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे सुन्न उनको भ्रमण भएको हो,” विज्ञप्तिमा भनिएको छ । पाँचवर्षअघि एमसिसीसम्बन्धी सम्झौता वार्ता र त्यसमा हस्ताक्षर हुनुअघि नेपालले भरपर्दो विद्युत् तथा सबै नेपालीका लागि कम ऊर्जा र यातायात लागतयुक्त पाँचवर्षे अनुदान कार्यक्रम तर्जुमा गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले बिहीबार शिष्टाचार भेट गरेकी छिन । अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गरेकी थिन ।
पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेकाले एमसीसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने बताएको भेटमा सहभागी एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।“अहिलेको सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने बारेमा सरकार पहिला स्पष्ट हुनुपर्छ, अनि एमालेले आफ्नो धारणा बनाउँछ, अहिले एमालेले एमसीसीबारे कुनै धारणा बनाएको छैन” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले जानकारी दिए ।

एमालेको नेतृत्वमा सरकार हुँदा एमसीसी अनुमोदन गर्न प्रयास गरे पनि तत्कालीन सभामुखले संसद्मा पेस नगरीदिँदा अघि बढ्न नसकेको स्मरण गराउँदै अहिले एमाले प्रतिपक्षमा रहेकाले यसमा एमालेको प्रत्यक्ष भूमिका नहुने ओलीले जानकारी गराएको भट्टराईले बताए । बालकोट भेटमा उपाध्यक्ष सुमारसँगै एमसीसीका प्रतिनिधि सहभागी थिए । त्यसैगरी एमालेका तर्फबाट विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल, सूर्य थापालगायत सहभागी थिए
यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन ।

उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेकी एमसीसीका उपाध्यक्ष सुमारलाई उनले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने बताएका छन ।

भेटमा सहभागी एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरका अनुसार सो अवसरमा अध्यक्ष नेपालले एमसीसीले उपलब्ध गराउने सहयोग नेपाली जनताको हितमा रहेको छ भन्ने स्पष्ट पार्न विशेष ध्यानाकर्षण गराएका थिए । उनले सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलका बीचमा साझा धारणा बनाएर नै सो बारेमा आवश्यक निर्णय हुने बताए ।

एमसीसी उपाध्यक्षले आफूहरुले उपलब्ध गराउने सहयोगका बारेमा स्पष्ट पार्दै सकारात्मक सहयोगको अपेक्षा गरेको नेता तुलाधरले जानकारी दिए । तत्कालिन नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले एमसीसीका सम्बन्धमा गरेको अध्ययनमा सो सम्झौतामा रहेका केही विषय संशोधन गर्नुपर्ने सुझाव दिइएकोसमेत अध्यक्ष नेपालले स्मरण गराएको नेता तुलाधारले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *