डेब्यूको पहिलो खेलमै विकेट लिने विक्रम नेपालको पहिलो खेलाडी


काठमाडौं, २४ भदौं । ओडिआईमा डेब्यूको पहिलो खेलमै विकेट लिने विक्रम सोब नेपालबाट पहिलो खेलाडी बनेका छन् । मंगलबार भएको खेलमा उनले पपुवा न्युगिनीविरुद्ध विकेट लिएका हुन् । तीव्र गतिका बलर सोबले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट मंगलबार पपुवा न्युगिनीविरुद्ध सानदार डेब्यू गरेका थिए । नेपालको राष्ट्रिय जर्सीमा खेल्ने लामो प्रतीक्षा अन्त्य गर्दै विक्रमले पहिलो ओडिआई खेलमा ड्रिम डेब्यू गरे । ओडिआई करीअरको पहिलो बलमै विकेट लिँदै विक्रमले डेब्यूलाई यादगार बनाए । समग्रमा ओडिआई विश्वको २८ औं बलरमा बनेका छन् ।
प्रमुख तीव्र गतिका बलर करण केसीलाई पहिलो खेलमा विश्राम दिँदै नेपालले विक्रमको डेब्यूको प्रतीक्षा अन्त्य गरेको थियो । विक्रमलाई ओमन भ्रमणको लागि नेपाली टोलीको व्यवस्थापकको रुपमा रहेका दाउद अन्सारीले २६ औं ओडिआई क्याप दिएका थिए । आफ्नो स्पेलको पहिलो बलमै पिएनजीका प्रमुख ब्याट्सम्यान टोनी उरालाई बोल्ड आउट गर्दै नेपाललाई विजयी बनाए । त्यसपछिका पाँच बल कप्तान असाद भालालाई डट राख्दै विकेट ओभर मेडन राखे ।
सोबले व्यक्तिगत दोस्रो तथा टोलीको चौथो ओभरको अन्तिम बलमा भालालाई सेकेन्ड स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि नेपाल पूर्ण रुपमा हाबी बनेको थियो । पिएनजी ब्याटिङ उरा र भालामाथि बढी निर्भर छ । सोबले दुबै प्रमुख खेलाडीलाई सुरुवाती चार ओभरमै आउट गरपछि पूनरागमन गर्न कठिन परेको थियो । अनुशासित लाइन र लेन्थमा बलिङ गरेका उनले ५ ओभरमा १ मेडन सहित २० रन खर्चेर २ विकेट लिएका हुन् । पिएनजी ३३ ओभरमै १ सय ३४ रनमा अल आउट भएपछि उनले दोस्रो स्पेल भने पाएनन् ।
सोब राष्ट्रिय टोलीमा परेको ६ वर्षपछि डेब्यू सपना पूरा गरे । यसअघि तीन पटक नेपाली टोलीको अन्तिम टोलीमा परेपनि डेब्यूको अवसर पाएका थिएनन् । स्पिन आक्रमण हाबी र तीव्र गतिका बलर कम प्राथमिकताका कारण टोलीमा परेपनि अन्तिम–११ मा पर्न सकेका थिएनन् । कोरोना महामारीको कारण नेपालको १७ सदस्य टोलीले ओमन भ्रमण गर्दा मौका पाएका थिए ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत २०१५ को नोभेम्बरमा पिएनजीविरुद्ध पहिलो पटक टोलीमा परेका थिए । उनले संयोगबस ६ वर्षपछि पिएनजीविरुद्धनै डेब्यू गरे । पिएनजीसँगको दुबै खेल कीर्तिपुर मैदानमा हुने कार्यक्रम थियो । तर अन्तर्राष्ट्रिय खेलको लागि उक्त स्तरको मैदान नभएको भन्दै खेल आइसिसीले यूएईमा गराएको थियो । नेपालले तीव्र गतिका बलरको रुपमा महबुब आलम र सोमपाल कामीलाई खेलाएको थियो । नेपाल दुवै खेलमा पराजित भएको थियो । नेपालले शक्ति गौचन, बसन्त रेग्मी र इरशाद अहमद गरि तीन स्पिनर टोलीको प्लेइङ –११ मा खेलाएको थियो ।
च्याम्पियनसिप अन्तर्गतनै २०१६ को अगष्टमा दुई खेलको लागि नेपालले नेदरल्यान्ड्स भ्रमण गर्दा सोब अन्तिम १५ टोलीमा थिए । पहिलो खेलमा करण केसी र सोमपाल खेलेका थिए । उक्त खेल नेपालले ७ विकेटले हारेको थियो । दोस्रो खेलमा नेपालले करणलाई बेन्चमा राख्दै शक्ति, सन्दीप र बसन्त गरि तीन स्पिनर खेलाएको थियो । उक्त खेलमा नेपाल १९ रनले विजयी भएको थियो ।
नेपालले २०१६ को लर्ड्स मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग ऐतिहासिक खेल खेल्दा विक्रम बेन्चमा थिए । लगातार स्पिनर आक्रमण मजबुत र दुई तीव्र गतिका बलर रोजाईको कारण तीन पटक नेपाली टोलीमा परेपनि विक्रमले डेब्यूको मौका पाएका थिएनन् ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु क्रिकेट खेल्ने विक्रमले औसत प्रदर्शन गर्दै आएका थिए ।
२०१७ को इपिएलमा विक्रमले पोखरा राइनोजबाट खेल्दै ६ खेलमा ३ विकेट लिएका थिए । २०१८ माको इपिएलमा ५ खेलमा ६ विकेट लिएका थिए । २०१९ को धनगढी प्रिमियर लिग (डिपिएल) मा विक्रमले रुपन्देही च्यालेन्जर्सबाट ६ खेलमा १० विकेट लिँदै राम्रो प्रभाव छाडेका थिए । आर्मीमा उनको प्रदर्शन यसअघि औसत थियो । आर्मीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी, करण केसी र कुशल मल्लले टि १० लिगको कारण प्रधानमन्त्री कप गुमाएपछि विक्रम पहिलो रोजाईमा खेल्दै बलियो प्रदर्शन गरेका थिए ।
प्रमुख तीन खेलाडी बिनाको कमजोर मानिएको आर्मीलाई पिएमकप उपाधि जिताउन विक्रमले मध्यक्रमका सन्दीप जोरा, सुमित महर्जन र भुवन कार्कीको महत्वपूर्ण विकेट लिँदै महत्वपूर्ण योगदान दिएका थिए । जुन प्रदर्शनपछि विक्रमले टोलीमा पूनरागमन गरेका थिए । कोरोना महामारीको कारण १७ सदस्य खेलाडी ओमन भ्रमण गर्दा विक्रमलाई पाँच वर्षपछि टोलीमा पुनरागमन गर्न सहज भएको थियो ।
प्लेइङ–११ मा विक्रमलाई सहज थिएन । तर नेपालले करण र अभिनाश दुबैलाई विश्राम दिएको थियो । अर्का युवा तीव्र गतिका बलर गुलशन झा पनि डेब्यूको प्रतीक्षमा छन् । महेन्द्रनगरबाट क्रिकेट खेलेर हुर्किएका सोबबाट तल्लोक्रममा ब्याटिङको पनि आशा गर्न सकिन्छ ।
२९ वर्षिय विक्रमले नेपाली टोलीको जर्सीमा मैदान उत्रन निकै लामो प्रतीक्षा गर्नु परेको थियो । मौका पाएको पहिलो खेलमा उनले भरपूर्ण सदुपयोग गरे । टोलीमा निरन्तर स्थान बनाउन यो भन्दा कडा मिहिनेत गर्नुपर्ने हुन्छ । नेपाली टोलीमा पछिल्लो समय तीव्र गतिका बलरहरुबीच स्थान बनाउन उच्च प्रतिस्पर्धा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *