कात्तिक २ गतेबाट फिल्म ‘गोर्खा वारियर २’ छायांकन हुने


काठमाडौं, २४ भदौं । कात्तिक २ गतेबाट फिल्म ‘गोर्खा वारियर २’ छायांकन हुने भएको छ । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि फिल्मको छायांकन अधुरै रहेको थियो । सरकारले निषेधाज्ञा हटाएपछि निर्देशक तथा निर्माता मिलन चाम्सले आफ्नो ड्रिम्स प्रोजेक्ट ‘गोर्खा वारियर २’ को छायांकन सुरु गर्ने भएका छन् । पहिलो पार्टभन्दा अगाडि दोस्रो पार्ट निर्माण गर्न लागेका उनले फिल्मको ३० प्रतिशत छायांकन पूरा गरिसकेका छन् ।
आउँदो कात्तिक २ गतेबाट फिल्मको बाँकी सुटिङ सुरु गर्ने तयारीमा चाम्सले गरेका छन् । हालै उनी फिल्मका लागि चाहिने प्राविधिक सामाग्री लिन बेलायत पुगेका थिए । यसै साता नेपाल आएका उनले भने, ‘फिल्ममा ७०÷८० वर्ष अगाडि गोर्खाली सेनाले प्रयोग गर्ने कस्टुम, हातहतियार लगातका सामाग्री चाहिने भएकाले त्यो लिन बेलायत गएको थिएँ । केही दिनमा त्यो सबै नेपाल आउँँदैछ ।’
उनले मुम्बईबाट एक चरण फिल्मको प्राविधिक सामाग्री आइसकेको र अर्को चरण पनि आउन बाँकी रहेको बताए । फिल्ममा युद्धको सिन फिल्मांकन गर्नका लागि चाहिने हातहतियारदेखि ‘प्रप’ सम्म सबै भारत र यूकेबाट नेपाल आउने उनको भनाई छ । नेपालपछि मलेशिया र बेलायतमा फिल्मको छायांकन हुनेछ । बेलायतमा भने फिल्मका छायांकन स्टूडियोभित्र हुने चाम्सले बताए ।
अनुमानित ३ करोडको बजेटमा निर्माण हुन लागेको फिल्मले गोर्खाली सेनाको वीरता र योगदानको कथा भन्नेछ । फिल्ममा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर वाङ्देल, बुद्धी तामाङ, कविता आले, विरुप घले लगायतको अभिनय रहनेछ । सुदिप बरालले खिच्ने फिल्मलाई यस वर्षभित्र सम्पूर्ण छायांकन सकेर २०२२ मा प्रदर्शन गर्ने चाम्सको योजना छ ।
त्यसैगरी, निर्देशक तथा निर्माता युवराज लामाले छोरा सिद्धार्थ लामालाई नेपाली फिल्ममा नायकाको रुपमा प्रवेश गराउने भएका छन् । निर्माता लामा करीब डेढ दर्शकपछि फिल्म निर्माण र निर्देशनमा कमब्याक गर्ने तयारीमा छन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको र आउँदो चैतपछि सुटिङ सुरु हुने उनले बताए । यसलाई उनले आफ्नो फिल्मी करिअरको दोस्रो इनिङ भनेका छन् ।
यो फिल्मबाट उनले आफ्नो ‘लिगेसी’ धान्न छोरालाई नायकको रुपमा डेब्यू गराउने भएका छन् । उनका कान्छा छोरा सिद्धार्थ लामाले फिल्ममा अभिनय गर्न लागेका हुन् । नेपाली दर्शकका लागि उनी नयाँ अनुहार भए पनि भारतको मलायलम इन्डस्ट्रीमा लोकप्रिय छन् । उनले मलायलम इन्डस्ट्रीका सुपरस्टार मोहनलालसँँग फिल्म ‘योद्धा’ मा एकसाथ स्क्रिन शेयर गरिसकेका छन् ।
मलायलमको अर्को फिल्म ‘इदावाप्पथ्य’ मा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका थिए । सन् २०१६ मा रिलिज भएको यो फिल्ममा अभिनेत्री मनीषा कोइरालाको पनि अभिनय थियो । मलायलममा सिद्धार्थलाई ‘उनिकुटा’ नामले चिन्ने गरिन्छ । पिताले निर्माण तथा निर्देशन गरेका ‘देउता’ लगायतका केही नेपाली फिल्ममा पनि उनले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।
छोराको डेब्यूबारे युवराज लामाले भने ‘सिद्धार्थले आफ्नो क्षमता र प्रतिभाले मलालयम इन्डस्ट्रीमा जुन पहिचान बनाएको छ, त्यो नेपाली दर्शकबीचमा पनि जानुपर्छ भन्ने मेरो सोच हो । किनकि, उसको क्षमता नेपाली दर्शकले पनि चिन्नु पर्छ । अनि, युवराज लामाको लिगेसी धान्ने पनि त कोही चाहियो नी ! यसैले पनि नेपाली फिल्ममा छोरालाई डेब्यू गराउन लागेको हुँ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *