नेपालमा कोरोना सक्रिय सङ्क्रमितको सख्या २९ हजार

काठमाडौँ, २४ भदौ । नेपालमा कोरोना सक्रिय सङ्क्रमित २९ हजार ४७९ छन् । बुधबार एक हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १७ छन् । बुधबार दुई हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा १० जनाको मृत्यु भएको छ । यस अवधिसम्म १० हजार ८८९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, बुधबार प्रदेश नं १ मा ४५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ६९ जनाको पिसिआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १३७ मध्ये विराटनगरमा ५८, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा नौ, उदयपुरमा चार, पाँचथरमा तीन, भोजपुरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एशिया क्षेत्रका देशलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको छ । नेपालको आयोजनामा जारी क्षेत्रीय सङ्गठन समितिको ७४औँ बैठकमा क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भने, “महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोग सम्बन्धित खोप सेवा तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगको जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयास भए पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसङ्ख्यासम्म पुग्न अपरिहार्य भएको छ ।”
बैठकमा दक्षिणपूर्वी एशिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल भइरहेको छ । सो कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगको निगरानीको पुनःस्थापनामा केन्द्रित छ । कोभिड–१९ विरुद्धको खोपसम्बन्धी प्रयासलाई असर नपारी नियमित खोप कार्यक्रम कायम राख्न तथा अभिवृद्धि गर्नका लागि आफूहरूसँग रणनीति भएको सुनिश्चित गर्नुपर्ने डा सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *