आज हरितालिका तीज मनाइँदै, शुक्रबारदेखि पशुपति खुला

काठमाडौँ, २४ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

यसैगरी, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर यही शुक्रबारदेखि खोलिने भएको छ । कोरोना जोखिम कम हुन थालेपछि शुक्रबार बिहान ५ः३० बजेदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । साढे चार महिना भक्तजनका लागि मन्दिर बन्द गर्नुपरेकामा बिहीबार क्षमापूजा गर्ने तयारी कोषको छ ।
कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने छ । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।
मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । विशेष पूजा भने शुक्रबारदेखि खुला नगरिने कोषले जनाएको छ । शुक्रबारदेखि मन्दिर खोल्न आज सुरक्षा समितिको बैठक बसी तयारी गरिएको कार्यकारी निर्देशक खतिवडाले सुनाए ।
विसं २०७६ चैतमा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो एक बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र सुरु गरिएको थियो ।
महाशिवरात्रिका अवसरमा गत वर्ष फागुन २७ गतेदेखि मात्र साविकबमोजिम नै पूरा समय पशुपतिनाथ मन्दिर खुला गरिएको थियो । यसपटक पनि कोरोना जोखिमको मात्रा हेरेर विशेष पूजा, साविकबमोजिम नै मन्दिर खुलालगायत निर्णय गरिने कोषले जनाएको छ ।

यस्तै, पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ बुधबारदेखि खुलेको छ । मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो ।

बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म सङ्ग्रहालय खुलाइने गरिएको लाखेले जानकारी गराए । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमबार एक सूचना जारी गरी बुधबारदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरू अघि बढेको लाखेको भनाइ छ । ललितपुरमा सङ्ग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थलसमेत खुला भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *