फिल्म ‘ग्रीन बर्ड’ आउँदो हप्ताबाट छायांकनमा निस्कने

काठमाडौं, २३ भदौ । छायांकन खुल्ला भएसँगै ‘अन्डर प्रि–प्रोडक्सन’ मा रहेको फिल्म ‘ग्रीन बर्ड’ पनि आउँदो हप्ताबाट छायांकनमा निस्कने भएको छ । चितवन र नवलपुरमा खिचिने फिल्ममा अभिनेत्री सुरक्षा पन्तले मुख्य भूमिकामा अभिनय गर्दैछिन् ।
काठमाडौंसहित तीन जिल्लाका प्रशासन कार्यालयले सिनेमा हल सञ्चालन र छायांकनका लागि अनुमति दिएसँगै प्रि–प्रोडक्सनमा रहेका दर्जनौं फिल्म छायांकनमा निस्कने तयारीमा जुटेका छन् । त्यसो त, प्रशासनले छायांकन अनुमति नदिँदा पनि लुकिछिपी फिल्मको छायांकन भने भइरहेकै थिए । शुक्रवारबाट प्रशासनले २५ जनाको उपस्थितिमा मात्र छायांकन गर्न अनुमति दिएको हो ।
कमलमणी नेपाल र अफरान अलीको पनि अभिनय रहने फिल्मलाई प्रमोद कँडेलले निर्देशन गर्नेछन् । यसैबाट उनले फिचर फिल्ममा डेब्यू गर्न लागेका हुन् ।
योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्मले परिवार र समाजको मूल्य मान्यताविरुद्ध गएर आफ्नो जीवन जिउन चाहने एक युवतीको संघर्षको कथा भन्नेछ । फिल्मको स्टोरी र स्क्रिनप्ले निर्देशक कँडेल आफैंले तयार पारेका हुन् । कात्तिक स्मित कर्नाटकको छायांकन रहने फिल्मलाई अन्जय खड्काले सम्पादन गर्नेछन् । यही भदौ २५ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ ।
मेथड एक्टिङलाई चित्रण गर्नका लागि अहिले सबै कलाकारलाई सुटिङ हुने चितवनको एक घरमा राखेर कार्यशाला भइरहेको छ । फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने निर्देशक कँडेलले बताए । सुरक्षाले फिल्म ‘आमा’ रिलिजपछि लामो समय नयाँ फिल्म साइन गरेकी थिइन् । ‘ग्रीन बर्ड’ को कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न लागेको उनको भनाई छ ।
यसैगरी, नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले ‘नेपाल–युरोपियन फिल्म फेस्टिभल–२०२१’ (नियुफ) भर्चुअलमार्फत गर्ने जानकारी गराएको छ । असोज १ देखि ९ सम्म हुने महोत्सवको दशौँ संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्महरू प्रदर्शन गरिने आइतवार भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपालका लागि युरोपियन युनियनको डेलिगेसनका कार्यवाहक राजदूत स्टेफेन माइकनले भने, ‘महामारीले गर्दा लामो समयदेखि सांस्कृतिक गतिविधिहरू ठप्प छ । यस्तो स्थितिमा पनि हामी नेपाल र युरोपियन युनियनबीचको सांस्कृतिक आदान–प्रदान तथा फ्यूजनको प्रवर्द्धनका लागि केही उत्कृष्ट नेपाली तथा युरोपेली फिल्महरू अनलाइन (भर्चुअल) को माध्यमबाट प्रदर्शन गर्दैछौं ।’
महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्महरू समावेश गरिएका छन् । यीमध्ये दुईओटा फिल्म नेपाली भाषामा सबटाइटल गरिएको छ । यस्तै, यो फेस्टिभलमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुने भएको छ । यसका लागि महोत्सवमा विनोद पौडेल निर्देशित ‘बुलबुल’, धोन्डुप छिरीङ निर्देशित ‘आमा खान्डा’ तथा सर्जियो बास्सो निर्देशित ‘सरीता’ छानिएका छन् ।
योसँगै महोत्सवमा २३ ओटा वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित फिल्महरु पनि समावेश छन् । महोत्सवमा फिल्म प्रदर्शनका अलावा फिल्म निर्माणका विविध पक्षहरूको बारेमा पनि तीनवटा कार्यक्रमहरूको आयोजना गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *