अभिनेत्री सुप्रियाले निर्देशक तथा अभिनेता थापासँग इन्गेजमेन्ट गरिन

काठमाडौं, २२ भदौ । अभिनेत्री सुप्रिया कटुवालले निर्देशक तथा अभिनेता सुदर्शन थापासँग इन्गेजमेन्ट गरेकी छिन् । सोमवार काठमाडौंको एक पाँचतारे होटलमा उनीहरुले औंठी साटेका हुन् । इन्गेजमेन्ट समारोहमा हुनेवाला दुलहा र दुलही पक्षका सीमित परिवारको मात्र उपस्थिति रहेको जानकारी प्राप्त छ । सुदर्शनले आफ्नो जन्मदिनको अवसरमा सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।
यो जोडी आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने तयारीमा छ । अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो । सुप्रिया केही समयदेखि एपि वान टेलिभिजनमा समाचार वाचिकाको रुपमा कार्यरत छिन् । उनले केही म्यूजिक भिडियोसँगै फिल्म ‘साढे सात’ मा पनि अभिनय गरेकी छन् । सुदर्शन र सुप्रिया विगत एक वर्ष प्रेम सम्बन्धमा थिए ।
‘मेरो एउटा साथी छ’ फिल्मबाट निर्देशनको रुपमा सफल डेब्यू गरेका सुदर्शन थापा लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिन्छन् । ‘प्रेमगीत’ लाई उनको करिअरकै उत्कृष्ट फिल्म भन्ने गरिएको छ । उनका फिल्म हेरेर धेरै दर्शकले प्रेम व्यक्त गर्न सिकेका छन् । व्यवसायिक रुपमा सफल फिल्म दिँदै आएका उनले आफ्नो जन्मदिनको अवसर पारेर जीवनको नयाँ अध्याय सुरु गरेका छन् ।
यसैगरी, लभस्टोरी फिल्ममा आफूलाई प्रमाणित गरेका निर्देशक हुन्, सुदर्शन थापा । उनी निर्देशित ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ नेपाली फिल्म इतिहासका माइलस्टोन फिल्म मानिन्छन् । यीनै दुई फिल्मबाट उनले दर्शकको विश्वास र भरोसा जिते भने आफूलाई अब्बल निर्देशकको रुपमा स्थापित गरे । आजको समयमा उनको फिल्म भनेपछि विश्वास गरेर हलसम्म जाने दर्शकको भीड ठूलो छ ।
उनले ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’, ‘मधुमास’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘म यस्तो गीत गाउँछु २’ फिल्मको पनि निर्देशन गरिसकेका छन् । तर, अचेल उनले बजारु मसलाको पछाडि दौडिएर आफ्नो लय विगारेको आरोप लाग्ने गरेको छ । किनकि, उनका पछिल्ला फिल्ममा ‘मेरो एउटा साथी छ र प्रेमगीत’ जस्तो मिठास भेटिन्न ।
सुदर्शनलाई ‘स्टार जन्माउने निर्देशक’ समेत भन्ने गरिन्छ । किनकि, उनका फिल्ममा अभिनय गरेर केही कलाकार ‘स्टार’ बनेका छन् । ‘मेरो एउटा साथी छ’ को सफलतापछि अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको करिअर एकाएक चुलिएको थियो । त्यस्तै, ‘प्रेमगीत’ बाट प्रदीप खड्का र पूजा शर्मा, ‘म यस्तो गीत गाउँछु’ बाट पल शाह र ‘रामकहानी’ बाट आकाश श्रेष्ठ चम्किए ।
सुदर्शनले दुईवटा फिल्ममा लिड नायक भएर पनि अभिनय गरेका छन् । स्वर्गीय आलोक नेम्बाङ निर्देशित फिल्म ‘अझै पनि’ र आफू निर्देशित फिल्म ‘चंखे शंखे पंखे’ मा उनी मुख्य भूमिकामा थिए । तर, निर्देशन जस्तो उनलाई अभिनय फापेन । अझ भनौं, दर्शकले उनलाई नायकको रुपमा स्वीकार गरेनन् । यी दुई फिल्मपछि उनले फेरि अभिनयमा फर्किने आँट गर्न सकेका छैनन् ।
सुदर्शन राम्रा गीतकार पनि हुन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ को ‘भन्छु आज मनका कुरा’ गीत उनैले लेखेका हुन् । उनले आफ्ना फिल्ममा गीत–संगीतलाई विशेष महत्त्व दिने गरेका छन् । यसैले उनले फिल्मका लागि छनौट गरेका प्रायः गीत चर्चित छन् । उनी निर्देशित दुई फिल्म ‘म यस्तो गीत गाउँछु २’ र ‘सम्हालिन्छ कहिले मन’ कोरोना महामारीका कारण रिलिज हुन पाएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *