बाढी, डुबान र पहिरामा परेर ६ जनाको मृत्यु, उद्धार र राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

 


काठमाडौँ, २२ भदौ । आइतबार रातिदेखि आएको भारी वर्षापछिको बाढी, डुबान र पहिरामा परेर ५ जनाको मृत्यु भएको छ । मुलुकका विभिन्न क्षेत्रमा आएको भारी वर्षापछिको बाढी, डुबान र पहिरामा परेर ६ जनाको मृत्यु भएको हो । गृह मन्त्रालयका अनुसार सोमबार रोल्पामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० स्थित पूर्णबहादुर थापाको घरमा पहिरो खस्दा सोही घरमा बस्ने गौरी थापा र अर्का पाँच वर्षका बच्चाको ज्यान गएको मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । अन्य दुईजना घाइते भएका छन् । यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको कर्रा खोलामा आएको बाढीले दुई दिनअघि बगाइएका दुई व्यक्तिको शव सोमबार फेला परेको छ । मृत्यु हुनेमा ना३ख १४४० नंका ट्रक चालक बद्री कार्की र अर्का गणेश थापा रहेका छन् । उनीहरू ट्रकसँगै बगेका थिए ।

उता जाजरकोटको नलघाट नगरपालिका–५ मा पहिरासँगै आएको ढुङ्गा लागेर १० वर्षका प्रचण्ड खड्काको मृत्यु भएको छ । अन्य गोरखबहादुर खड्का र सिला खड्का गम्भीर घाइते भएको जनाइएको छ । यस्तै प्यूठान नगरपालिकामा वर्षाका कारण कच्ची घर भत्किँदा देउकी विकको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
यता रातिदेखि परेको वर्षाका कारण बाढी आउँदा काठमाडौँका ३८५ घर÷टहरा डुबानमा परेको छ । काठमाडौँमा डुबानमा परेका २३२ जनाको उद्धार भएको गृह मन्त्रालयले जनाएको छ । एउटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।
उता भक्तपुरबाट ५४ र ललितपुरको १५ जनाको उद्धार गरिएको र ती जिल्लाका खोलाका छेउछाउका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए । मुलुकभर मनसुन सुरु भएयता जेठ ३० पछि अहिलेसम्म बाढी÷पहिरो र डुबानमा परेर १२९ जनाको मृत्यु भएको छ । अन्य ४४ जना हराइरहेका छन् ।
यसैगरी, गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिएका छन । उनले सोमबार प्रजिअहरूलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिए ।
गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई टेलिफोन गरेर बर्सातका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्री खाँणले काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिए । प्रजिअ पराजुलीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुङ्गे पुलमा असर पु¥याएको जानकारी गराएका थिए ।
उनले ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर नक्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन । कारागारमा आइतबार अपराह्न चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाँणले त्यसबारे जानकारी लिएका हुन । प्रजिअ निरौलाले चौकिदारहरूको विरोधमा कैदीबन्दीले नाराबाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको मन्त्री खाँणलाई जानकारी गराएका थिए ।
मन्त्री खाँणले कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रजिअ शिवराम गेलाल र भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईसँग पनि बाढी, पहिरो र डुबानको असरबारे जानकारी लिएका थिए । उनिहरूले जिल्लामा रहेको अवस्थाबारे जानकारी गराएको मन्त्रीको सचिवालयले जनाएको छ । उनले सबै प्रजिअहरूलाई प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर गर्न निर्देशन दिएका थिए ।
मन्त्री खाँणलाई मोरङमा प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका भीम कामत बिरामी भई अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रजिअ कोषहरि निरौलाले जानकारी गराएका थिए ।
त्यस्तै सङ्खुवासभामाको मादी नगरपालिका–१ उमलिङमा एकै घरपरिवारका ६ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रजिअ टेकनारायण पौडेलले जानकारी गराएका थिए । प्रजिअ पौडेलका अनुसार धारिलो हतियार प्रहारबाट ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, आठ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *