भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ गोलअन्तरले पराजित

 


काठमाडौँ, २१ भदौ । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर अघि सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो । भारतका लागि फारुख चौधरी र कप्तान सुनिल क्षेत्रीले गोल गरे । नेपालका लागि सान्त्वना गोल तेज तामाङले गरे । पहिलो हाफमा प्रदर्शन गरेको खेललाई दोस्रो हाफमा निरन्तरा दिन नसक्दा नेपाल पराजित हुन पुगेको हो । नेपाल र भारत दुवैले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीका तर्फबाट पटकपटक गोलको प्रयास गरे पनि सफल भने हुन सकेन ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले खेलको ६२औँ मिनेटमा भारतका लागि पहिलो गोल गरेका थिए । यस्तै खेलको ८०औँ मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । उनि बिनाअवरोध सहजै गोल गर्न सफल भए । भारतले दुई गोल गरेपछि नेपालले आक्रामक खेल खेल्न पुगेको थियो । खेलको ८७औँ मिनेटमा नेपालका लागि तेज तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । उनले झण्डै २० यार्ड टाढाबाट गोल गरेका थिए ।
नेपाली टोलीले दोस्रो हाफमा पनि गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न भने सकेन । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले एक÷एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए भने भारतका लागि अनिरुद्ध थापाले गोल गर्न सफल भएको थिए । आइतबार खेलको ७४औँ मिनेटमा भारतीय टोलीका प्रशिक्षक इगिर स्टिमिकले पहेँलो कार्ड पाउएका थिए । भारतविरुद्धको दोस्रो खेलमा नेपालका राजन गुरुङ र गोलकिपर विशाल श्रेष्ठले डेब्यु गरेका थिए ।
खेलको म्यान अफ दि म्याच नेपालका तर्फबाट तेज तामाङ तथा भारतका तर्फबाट अनिरुद्ध थापा घोषित भए । दुवैले जनही रु २५ हजारको चेक र ट्रफी प्राप्त गरे । यस्तै प्लेयर अफ दी सिरिज भारतका रहिम अली घोषित भए । उनले रु एक लाखको चेक र ट्रफी पाए । उनिहरूलाई गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले चेक र ट्रफी वितरण गरे ।
यो खेलसँगै नेपाल र भारतबीच २१ पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १४ खेलमा विजयी हुँदा नेपालले दुई खेल मात्र जित्न सकेको छ । दुवै टोलीले पाँच पटक बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपालभन्दा भारत ६३ स्थान माथि छ । भारत १०५औँ स्थानमा तथा नेपाल १६८औँ स्थानमा रहेको छ । अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खेल हेर्न अनुमति दिएको हो । खेलमा पाँच हजार १ सय दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । भातीय टोली नेपालसित खेल्न ६ वर्षपछि नेपाल आएको हो । नेपालले भारतीय टोलीलाई ८ वर्षयता हराउन सकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३५ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा ११ गोल मात्र गर्न सकेको छ ।
एन्फाका अनुसार भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने छ । नेपाली टोली यही भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदै छ ।

१९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एशियाली खेलकुदअन्तर्गत फुटबलतर्फ स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई हराएको थियो । त्यसको २० वर्षपछि २०१३ मा नेपालले दशरथ रंगशालामै भारतलाई २–१ ले हराएको थियो । नेपालको सिनियर टोलीले भारतलाई यी दुई अवसरमा मात्रै हराएको हो ।
नेपाल र भारतबीचको मैत्रिपूर्ण खेललाई दुबै टिमले साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएका छन् । माल्दिभ्सको राजधानी मालेमा अक्टुबर महिनामा साफ च्याम्पियनसिप आयोजना हुनेछ । जहाँ नेपाल र भारतसँगै बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंका सहभागी हुनेछन् । त्यसैगरी, नेपाल र भारत दुबैले २०२३ मा चीनमा आयोजना हुने एशिया कप फुटबल प्रतियोगिताका लागि छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । दुबै टिमले एशिया कपमा छनोट हुने लक्ष्य राखेका छन् ।
यसैगरी, भारतविरुद्धको आइतबारको खेलसँगै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन । सन् २००८ मा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले पहिलो खेल कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध खेलेका थिए । उचाइ ६ फिट २ इन्च भएका उनि १८ वर्षको उमेरमा नै राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । भारतविरुद्धको आइतबारको खेलसँगै राष्ट्रिय टोलीबाट चेम्जोङले खेलेको खेलको सङ्ख्या ७४ पुगेको छ । यसअघि विराज महर्जनको नाममा राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेलेको कीर्तिमान थियो । महर्जनले ७३ खेल खेल्दै खेलबाट सन्यास लिएका थिए । बिहीबार भारतविरुद्धको पहिलो खेल खेल्दै चेम्जोङले महर्जनसित बराबरी गरेका थिए । उनले सन् २०१८ यता नेपाली टोलीको कप्तानी गर्दै आएका छन । उनको नेतृत्वमा नेपालले एएफसी सोलिडारिटी कप र थ्री नेसन्स कपको उपधि जितिसकेको छ । चेम्जोङ दक्षिण एसियाकै उत्कृष्ट गोलकिपरका रूपमा चिनिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *