नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत

 


काठमाडौँ, २१ भदौ । नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । आइतबार एक हजार ५३४ जनासङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २७ हजार १८५ व्यक्ति सङ्क्रमणमुक्त भई घर फर्किएसँगै नेपालमा कोरोना निको हुने दर ९४.५ प्रतिशत पुगेको हो । आइतबार कोरोना भाइरसको सङ्क्रमण एक हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार २४८ रहेका छन् ।
आइतबार थप २० जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म १० हजार ८३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । त्यस्तै ५२३ जना सघन उपचार कक्षमा, १६२ भेन्टिलेटर, २९ हजार ८१ होमआइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २६६ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैगरी, आइतबार प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१ मध्ये विराटनगरमा ४८, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा चार÷चार, तेह्रथुममा तीन, उदयपुर र सङ्खुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेशबाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार महिलासहित १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशमा आइतबार ३२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९२ जना सङ्क्रमित थपिएका छन् भने छ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्की, तनहुँ, स्याङ्जा, वाग्लुङ, पर्वत र म्याग्दीका एक÷एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३१२ पुगेको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार एक हप्तामा पाँच हजार ३०७ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ । प्रदेशमा हाल दुई हजार ११८ जना सङ्क्रमित होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *