एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपकी पदक विजेतालाई स्वागत

काठमाडौं, २० भदौ । एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपकी कास्य पदक विजेता झापाकी नारिका राईलाई गृहनगर भद्रपुरमा स्वागत सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नारिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले नारिकालाई भव्य स्वागत गर्दै सम्मान गरेका हुन् ।
प्रमुख प्रशिक्षक दिपक महर्जन, बक्सिङ प्रशिक्षक डम्बरबहादुर लिम्बू र टिम व्यवस्थापक तर्कराज राईसँगै नरिका काठमाडौँबाट झापासम्म आएकी थिइन् । झापा जिल्ला खेलकुद विकास समितिको सभाहलमा निरिकालाई सम्मान गरिएको थियो ।
नारिकालाई भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, संघका झापा अध्यक्ष सञ्जीव घोषसहितको खेल सम्बद्ध टोलीले विशेष स्वागत तथा सम्मान गरेको हो ।
संयुक्त अरब इमिरेट्स (दुबई) मा यसै साता सम्पन्न च्याम्पियनसिपमा नारिकासहित ३ खेलाडीले कास्य पदक जितेका थिए । स्वस्तिका तिरुवाले लाइट बेन्टम ५२ केजी मुनी र र छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ केजी मुनि कास्य पदक जितेका थिए ।
यसैगरी, टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ ।
महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब रेपेचेजतर्फ पलेशाले क्वाटरफाइनलमा खेल्नेछिन् । रेपेचेजबाट दुई खेलाडीले कास्य पदक प्राप्त गर्नेछन् । ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका थिए ।
पलेशा प्रशिक्षक कविराज लामासहित ६ सदस्यीय टोली भदौ ४ गते जापान पुगेको थियो । पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् । उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल्न पाएकी थिइनन् । तर पछि वाइल्डकार्डमा नाम परेपछि उनको यात्रा तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *