फिल्म ‘श्री’ लाई पुनः रिलिज गर्नुपर्ने वितरक कम्पनीको माग

काठमाडौं, २० भदौं । रिलिजकै क्रममा रोकिएकाले फिल्म ‘श्री’ लाई पुनः रिलिज गर्नुपर्ने वितरक कम्पनीको माग रहेको छ । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि फिल्म राम्रोसँँग चल्न पाएन । अब फेरि यही फिल्म रिलिज गरेर सिनेमा घरको पर्दा उघार्नुपर्छ । किनकि, रिलिजकै क्रममा रोकिएर यो फिल्ममाथि अन्याय भएको छ । पुनः रिलिज गरेर न्याय दिनुपर्छ ।’ कोरोना भाइरसको संक्रमण रोकथामका लागि तीन जिल्लाका प्रशासन कार्यालयले गत बैशाख ६ गते सिनेमा घर बन्द गर्ने निर्णय ग¥यो । त्यसबेला हलमा अभिनेता सन्दिप क्षेत्री अभिनीत फिल्म ‘श्री’ प्रदर्शनरत थियो । संक्रमण फैलिनबाट रोक्न प्रशासनले सिनेमा हल खोल्न प्रतिबन्ध लगाएपछि फिल्म एक सातामै उत्रियो । जसले गर्दा यो फिल्मले प्रचारमा भएको खर्च समेत उठाउन सकेन ।
बिहीवारबाट तीनै जिल्लाका प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सिनेमा हल सञ्चालन गर्न अनुमति दिएको छ । चार महिनापछि हल खुल्न लागेको कुराले फिल्मकर्मीहरु उत्साहित भएका छन् । हल व्यवसायीहरु पनि बुधवारबाटै सिनेमा घरको सरसफाईमा जुटेका छन् । तर, तत्काल कुन फिल्मबाट सिनेमा घरको टिकट काउन्टर खोल्ने भन्ने निधो भइसकेको छैन ।
सिनेमा हलसम्म दर्शक आउने माहोल नबनेसम्म नयाँ फिल्म रिलिज गर्न निर्माताहरु तयार नदेखिएको अवस्थामा प्रदर्शनकै क्रममा रोकिएको फिल्म ‘श्री’ लाई नै पुनः प्रदर्शन गर्ने तयारीमा यसको वितरक कम्पनी जुटेको छ । जिजिए ग्रुपका करण श्रेष्ठले अन्यायमा परेको फिल्मलाई न्याय दिनुपर्ने बताए । उनी भन्छन्, ‘फिल्मको पहिलो शोमा ५ जना दर्शक थिए । बलियो माउथ पब्लिसिटीपछि फिल्मले दर्शकको संख्या बढाउँदै लगेको थियो ।
कोरोना महामारीभन्दा अगाडि जिजिए ग्रुपसँग वितरण गर्ने फिल्म एक दर्जन बढी थिए÷छन् । ‘म यस्तो गीत गाउँछु २, चिसो मान्छे, माइकल अधिकारी, मनसँँग मन’ लगायतका फिल्मको वितरण यही ग्रुपले गर्दैछ । वितरक श्रेष्ठ आउँँदो दशैंमा यीमध्ये दर्शकले प्रतिक्षा गरेको एक फिल्म रिलिज हुने बताए । यसका लागि हल व्यवसायीदेखि वितरकसम्मको साथ चाहिने उनको भनाई छ ।
एभरेष्ट सूर्य बोहोराद्वारा निर्देशित ‘श्री’ मा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय छ । सविता गुरुङले निर्माण गरेको यो फिल्म सिनेमा घर र ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज भएको थियो । फिल्ममा शेरबहादुर तामाङको छायांकन र सुजन बडालको सम्पादन छ ।
यसैगरी, अभिनेता राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेको फिल्म ‘सत्यम’ भव्य सेटमा खिचिने भएको छ । आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मको यतिबेला पोखरामा सेट निर्माणको काम भइरहेको छ । इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन गर्ने गरी ठूलो क्षेत्रफलमा निर्माण टिमले महंगो खर्चमा भव्य सेट निर्माण गर्न लागेको हो ।
फिल्मका निर्देशक शंकर कार्कीका अनुसार, यो सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु खिचिनेछ । उनले भने, ‘मनाङ, मुस्ताङ, पोखराको आउटडोर दृश्यहरु तथा काठमाडौंका केही दृश्यहरु बाहेक सबै सेटमा खिच्दैछौं । हाम्रो लामो समयदेखिको तयारी यसकारण पनि चलिरहेको छ ।’ शुक्रवार निर्माण टिमले सेटका तस्विरहरु सार्वजनिक गरेको छ ।
फिल्मका निर्माता रेशम सापकोटाले यो सेट हालसम्मकै ठुलो हुनसक्ने बताए । उनले भने, ‘हामीले छायांकन गर्ने सेट सम्भवतः नेपाली फिल्म इतिहासकै ठूलो सेट हुनसक्छ । आजसम्म यति ठूलो सेटमा छायांकन भएको जानकारीमा छैन । हामीले फिल्मलाई स्तरीय बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’ उनका अनुसार, यो सेट झण्डै एक सय मिटर लम्बाई र पचास मिटर चौडाईको छ ।
अभिनेता हमालले समेत यो सेटको निरिक्षण गरिसकेका छन् । दशैं लगत्तै वर्कशपमा जाने तयारीसहित काम भइरहेको निर्देशक कार्कीले बताए । फिल्ममा अभिनेता द्वय अनुप विक्रम शाही र पल शाहको पनि मुख्य भूमिका रहनेछ । त्यस्तै, फिल्मको महत्वपूर्ण भूमिकाको लागि अभिनेता अभय बराल पनि अनुबन्ध भएका छन् । फिल्मका लागि नायिका भने फाइनल भइसकेका छैनन् ।
‘सत्यम’ मा अडिसनबाट पनि केही कलाकार छानिएका छन् । गत वर्ष काठमाडौं र पोखरामा फिजिकल र भर्चुअलबाट भएको अडिसनमा काठमाडौंबाट बाल कलाकारहरु प्रिन्स प्रसिद्द सिंह थापा, नेरिस्का स्थापित र सूजन परियार छानिएका छन् भने महिला कलाकाहरुमा अन्विसा खड्की, बेदना राई, अनुजा सिंह, प्रतिष्ठा थापा, मरिया कार्की, मुस्कान वाग्ले, अस्मी थापा छानिएका छन् ।
फिल्मका लागि पुरुष कलाकारहरुमा प्रविन चापागाईं, सागर खनाल, अमृत दाहाल, मनोज थापामगर, माधव अधिकारी, लक्ष्मण अधिकारी, समराज्य कार्की, कैलाश रावल, प्रतिक उप्रेती, प्रिन्स विश्वकर्मा, संजोग रसाईली, विनायक गौतम, अनुज शर्मा, गौरभ कपूर र मोख्तर खान छानिएका छन् । पोखरा अडिसनबाट पनि निर्माण टिमले उल्लेख संख्यामा कलाकारहरु छनौट गरेको छ ।
अर्जुन सिंह बोहरा, निश्चल बिक्रम पौडेल, सुनिल ढुंगाना (शर्मा), आदेश जी.सी., सरिता दानकुटी, केदारनाथ पौडेल, सोफी धरेल, मनोज सुनार, किसान सुनार, नवराज ढकाल, अनिल कार्की, इश्वर के.सी. वरदान लोहनी, रिजेश थापा पोखरा अडिसनबाट छानिएका हुन् । यसबाहेक अन्य १५ जना कलाकारलाई पनि मध्यम भूमिकाको लागि छनौट गरिएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा हमालले मुख्य पात्र (सत्यम) को भूमिका निर्वाह गर्नेछन् भने अनुप विक्रम शाही भिलेनको भूमिकामा प्रस्तुत हुनेछन् । यसअघि उनीहरुले फिल्म ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । फिल्ममा हमालको चार फरक लुक्स रहनेछ भने अभिनेता अनुप विक्रम शाही र पल शाहले अलग लुक्समा अभिनय गर्ने जानकारी प्राप्त छ । ‘सत्यम’ लाई रेशम सापकोटाले लेखेका हुन् ।
गणेश पौडेल एशोसियट निर्माता रहेको फिल्ममा सह–निर्माताहरुमा रेशम गौतम, सुबास भुर्तेल, श्याम मल्ल र कृष्ण अधिकारी छन् । फिल्ममा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह–संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ ।
त्यस्तै, फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह–निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामाङ रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व निर्देशन रहनेछ । मुख्य सहायक निर्देशकमा शंकर धिताल र रामशरण कोइराला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *