कोरोना निको हुने दर ९४.५ प्रतिशत

काठमाडौँ,२० भदौ । शुक्रबारको तुलनामा कोरोना निको हुने दर शनिबार बढेको छ । शनिबार निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण शनिबार एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन् । सङ्क्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् ।
सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । सङ्क्रमणबाट शनिबार ९ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले निधन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ५५४ जना सघन उपचारकक्ष (आइसीयू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
यसैगरी, शनिबार प्रदेश नं १ मा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ६६२ जनाको पिसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ७० मध्ये विराटनगरमा ५३, सुनसरीमा ६३, झापामा २९, धनकुटामा नौ, इलाममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २०१ महिला र १९० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *