पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी–डुबानले तहसनहस, गृहमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन

काठमाडौँ, २० भदौ । गृहमन्त्री बालकृष्ण खाँणले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेका छन । शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु, मेलम्ची, उदयपुर, धनुषा र सिरहा पुगेका गृहमन्त्री खाँणले मेलम्ची र इन्द्रावती नदीमा आएकोे बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा ‘चेकड्याम’ बनाउनुपर्ने बताएका छन । उनले
पहाडी र हिमाली क्षेत्र माथिबाट आएको पहिरो र त्यसपछिको बाढीले तहसनहस बनाइरहेका बेला तराईमा डुबानका साथै ठूला नदीले धार परिवर्तन गर्न खोज्नु अर्काे चुनौतीको विषय बनेको बताए ।
सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका छन ।
मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा बस्ती बचाउन कहाँ–कहाँ कति वटा ड्याम बनाउनुपर्ला भनेर विस्तृत अध्ययन गरिने उनले बताए । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नं २ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।
गृहमन्त्रीसहित सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए ।
गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण सो क्षेत्रमा पाँच जनाको मृत्यु, छ घाइते र २० बेपत्ता छन् । बाढीपहिराले १५ पुल, सडक खेत र सयौँ घरटहरासहित ठूलो धनजनको क्षति भएको छ ।
यसैगरी, सुनसरीको चतराघाटको सिमानामा पर्ने उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा झण्डै डेढ किलोमिटर क्षेत्र सप्तकोसीले कटान गरिसकेको छ । “केही अघिको बाढीले त्यस क्षेत्रमा १०० मिटरभित्र पसिसकेको छ भने अब २० मिटर मात्रै काट्न पाएको भए नदीको धार नै परिवर्तन हुन्थ्यो”, स्थानीय राजकुमार चौधरीले भने । त्यस क्षेत्रबाट विसं २०३४ अघि सप्तकोसी हिँडेको थियो । पछि धार परिवर्तन भएर सप्तकोसी मोडियो । सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव भन्छन, “अहिले नदीले त्यही पुरानो बाटो खोज्दै छ, बेलैमा ध्यान पुगेन भने यहाँबाट नदी छिर्दा, त्यसभन्दा तल्लो तहका धेरै बस्ती बग्नेछ ।”
उक्त क्षेत्रमा स्थलगत अवलोकन गरेपछि गृहमन्त्री खाँणले जलवायु परिवर्तनका कारण नदीले धार परिवर्तन गरिरहेको उल्लेख गर्दै, पहिलो कोसीले पूर्व क्षेत्रमा कटान गरेकामा पछिल्लो समयमा पश्चिम क्षेत्रमा धार परिवर्तन गर्न खोजिरहरको छ भने । उनले कोसी बाढी डुबानबाट जनतालाई कसरी सुरक्षित बनाउने भन्नेमै सरकारको ध्यान रहेको बताए । त्यहाँ कटान भएमा तल्लो तहका बस्तीका ३०० बढी घरलाई प्रभावित पारिहाल्छ ।
यता कमला नदीले पनि धनुषा र सिरहाको धेरै क्षेत्रमा असर गरिहेको छ । कटान गरेर ठाउँठाउँमा धार परिवर्तन गर्न खोजिरहरको छ । धनुषाको सबैला नगरपालिका–१३ किरतपुरमा मात्रै एक हजार १०० मिटर बाढीले कटान गरेको छ । सप्तरी क्षेत्रमा चारवटा र धनुषापट्टि तीनवटा एक्जाभेटर प्रयोग गरेर नदी खोल्ने र खोला फर्काउने काम गरिएको थियो । त्यही बेला सुरक्षाकर्मी र स्थानीयवासी मिलेर हजारौँ बोरामा बालुवा भरी नदी कटान नियन्त्रण गरेका थिए । त्यसकारण साउनको पहिलो हप्ता आएको बाढी बस्तीमा पस्न नपाएको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख एकराज भट्टराई बताउछन । त्यहाँबाट नदी पसेमा भने सबैला नगरपालिकाको तीन र मदन नगरपालिकाको पाँचवटा वडा, शहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिकाका विभिन्न वडा तथा भारतको जयनगरसमेतलाई असर गर्ने पनि उनले सुनाए । त्यसले कम्तीमा २७ हजार घरधुरीका एक लाख बढी मानिसलाई प्रभावित बनाउने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *