मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारत बराबरी

काठमाडौँ, १८ भदौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । बिहीबार दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीच एक÷एक गोलको बराबरीमा खेल सकिएको छ । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नु परेको हो । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औंँ मिनेटमा अञ्जन विष्टले गोल गर्नुभएको हो । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुनसकेन ।
नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो । भारतीय गोलकिपर गुरप्रितसिंह सान्धुले नेपाली टोलीको प्रयास विफल पारिदिए । मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो । खेलको ६०औँ मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए । गोलकिपर किरणकुमार चेम्जोङले उनको प्रहार रोक्न सक्नु भएन । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका छन । महर्जनले नेपाली टोलीबाट सन्यास लिइसकेका छन । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ ।
नेपाल र भारबीच आजसहित फुटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फुटबल महासङ्घको (फिफा) वरियतानुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा रहेको छ ।
यसैगरी, युवा मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नितिनले तेज तामाङलाई प्रतिस्पथापन गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । नितिन ८५औं मिनेटमा मैदान छिरेका थिए । एन्फा एकेडेमीका उत्पादन नीतिनले गत जेठमा सम्पन्न खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सबाट खेलेका थिए । ‘ए’ डिभिजन टोली च्यासल युथ क्लब, संकटा र मनाङ मस्र्याङ्दी क्लबबाट खेलिसकेका छन् ।

उमेर समूहमा नेपालको टोलीबाट नियमित खेल्दै आएका नितिन सेन्टर मिडफिल्डमा खेल्ने गर्छन् । उमेर समुहमा भने उनले आक्रामक भूमिकामा खेल्दै विंगरका रुपमा पनि खेलेका छन् । राष्ट्रिय टोलीमा परेको पहिलो पटकमा नै उनले डेब्यु गर्ने अवसर पाएका हुन् ।
यस्तै, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध मैत्रीपूर्ण खेलको प्रदर्शनले मात्र साफ च्याम्पियनसिपका लागि नपुग्ने बताएका छन् । अघिल्लो दिन गर्व गर्न लायक प्रदर्शन गर्ने प्रतिवद्धता जनाएका अलमुताइरीले जित निकाल्न नसकेकोमा समर्थकसँग माफी मागे । उनले टोलीको प्रदर्शनको भने प्रशंसा गरे । अन्जन विष्टको गोलमा पहिलो हाफमा लिएको अग्रतालाई नेपालले जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको बतायो । ‘हामीले आज जुन नतिजा निकाल्यौं त्यसका नेपाली दर्शकसँग माफी माग्न चाहन्छु । यो प्रदर्शनले साफका लागि पुग्दैन’, अलमुताइरीले भने, ‘समर्थकसँग माफी चाहन्छु । तर पनि टोलीको प्रदर्शनबाट म सन्तुष्ट छु । आउने दिनमा गल्ति सुधार गर्दै अझ राम्रो खेल्नेछौं ।’
अलमुताइरीले भारतविरुद्ध दुई खेलमा टोलीमा भएका सबै खेलाडीले मौका दिने लक्ष्य राखेको बताए । ‘मैले टोलीमा आवश्यकता अनुसार परिवर्तन गरेको छु । आज पनि अन्त्यतिर युवा खेलाडीलाई अवसर दिएँ । सबै खेलाडीलाई अवसर दिएर टोली अघि बढाउने हो । मेरो विचारमा खेलाडी तयार छन् भने उमेरले केहि असर गर्दैन,’ उनले भने, ‘खेलाडीको चाहेको बेला वा समर्थकको चाहनामा मैले खेलाउने होइन । खेलाडी मानसिक र अन्य हिसाबले सहि लागेको बेलामा खेलाउछु ।’
भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाचले भने भारत खेलमा बराबरी भन्दा राम्रो नतिजाको हकदार भएको बताए । ‘ नेपालभन्दा हामी राम्रो नतिजाको हकदार थियौं । मैदानको अवस्थाले पनि हामीले सोचेजस्तो खेल्न सकेनौं । दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गर्न सक्यौं,’ उनले भने ।प्रशिक्षक स्टिमाचले भने टोलीको प्रदर्शनलाई दुई भागमा बाँडेर हेर्नुपर्ने बताए । ‘हामीले पहिलो हाफ कमजोर प्रदर्शन गर्यौं । जसका कारण दोस्रो हाफमा ४ खेलाडी परिवर्तन गर्यौं’, उनले भने, ‘त्यसपछि हाम्रो प्रदर्शनका सुधार भयो । गोल निस्कियो । पहिलो हाफमा दुःखी छु । दोस्रो हाफबाट खुसी छु ।’उनले भारतीय टोली जितको हकदार रहेको पनि बताए । ‘नेपाल भन्दा हामी बलियो टोली हौं । हाम्रो आफ्नै गल्तिमा गोल खाएका हौं । त्यसपछि टोलीले राम्रो प्रदर्शन गर्यो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *