१५.४ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाए

 


काठमाडौँ, १८ भदौ । हालसम्ममा १५ दशमलव चार प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । १७ दशमलव नौ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण खोप मात्रा लगाएका छन् । नेपालमा कोरोना भाइरसविरुद्धको खोप एक करोड ९२ हजार मात्रा खोप लगाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १६४ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस् अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्म ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्र रूपमा अघि बढाएको छ ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएका छन ।
यसैगरी, नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाएको सात महिनामा नै एक करोड बढीले खोप लगाउन सफल भएका छन् ।
सरकारले गत माघ १४ गतेबाट खोप लगाउन सुरु गरेयता सात महिनामा नै एक करोड ९२ हजार १६४ जनाले खोप लगाएका हुन् । नेपालमा पहिलोपटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।
मन्त्रालयले अहिलेकै दरमा सङ्क्रमण बढे तेस्रो लहर असोज १५ देखि कात्तिक १५ गतेभित्र आउने सक्ने चेतावनी दिएको छ । सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई दिइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पहिलो मात्रा १७.९ प्रतिशत अर्थात् ५४ लाख २४ हजार ८३६ जनाले र पूर्ण मात्रा १५.४ प्रतिशत अर्थात् ४६ लाख ६७ हजार ३२८ जनाले लगाएका छन् । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार अहिले विभिन्न विश्वविद्यालयमा परीक्षा दिने विद्यार्थीलाई खोप लगाउन थालिएको छ । “हामी प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिँदै आएका छौँ”, उनले भने, “खोप आएपछि फेरि प्राथमिकीकरण गरेर खोप अभियान सञ्चालन गर्ने छौँ ।”
उनका अनुसार अहिलेसम्म एक करोड ३२ लाख खोप आइसकेको छ । नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ ।
सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत खोप ल्याएर लगाइरहेको छ । नेपाललाई सुरुमा माघ ८ गते भारतले १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि सरकार आफैँले १० लाख मात्रा कोभिशिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग गत फागुन ९ गते १० लाख मात्रा खोप खरिद गरेको थियो ।
कूल लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत खोप ल्याउने सरकारको तयारी छ । कोभ्याक्सबाट निःशुल्क रूपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । यसैगरी भारतसहित चीन र भुटानबाट नेपालले अनुदानका ४६ लाख ३० हजार मात्रा खोप प्राप्त गरेको छ । तीमध्ये भारतले १० लाख मात्रा कोभिशिल्ड, चीनले ३४ लाख मात्रा भेरोसेल र भुटानले दुई लाख ३० हजार एस्ट्राजेनिका खोप उपलब्ध गराएको छ ।
यसैगरी कोभ्यासको अनुदानमा पनि नेपाललाई विभिन्न देशले ३४ लाख ९७ हजार ५९० मात्रा खोप उपलब्ध गराएका छन् । भारतबाट तीन लाख ४८ हजार मात्रा कोभिशिल्ड, अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन र जापानबाट एस्ट्राजेनिका १६ लाख १४ हजार ७४० मात्रा खोप प्राप्त भएको छ । त्यस्तै नेपालले भारत र चीनबाट विभिन्न समयमा ५४ लाख मात्रा खोप खरिद गरेको छ । सरकारले भारतसँग २० लाख मात्रा कोभिशिल्ड खरिद गरेकामा १० लाख मात्रा प्राप्त भएको छ । यस्तै चीनबट ४४ लाख मात्रा भेरोसेल खोप खरिद गरेको छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाइएको छ ।
नेपालमा विसं २०७७ साउनको तेस्रो हप्ता कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएको थियो । यस्तै २०७७ चैत पहिलो साता नेपालमा सङ्क्रमणको दोस्रो लहर फैलिएको थियो । २०७८ वैशाख २८ गते सबैभन्दा बढी नौ हजार ३१७ जनामा सङ्क्रमण देखिएको हो ।
सरकारले १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने छ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । नेपालमा हालसम्म आठ लाख ४८ हजार २०४ जनामा सङ्क्रमण देखिएको छ । यस्तै सात लाख १९ हजार ३३६ जना सङ्क्रमणमुक्त भएका छन् भने १० लाख ७७० जना सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *