नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदै


काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार (आज)देखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता विवाद नटुङ्गिएका कारण ती जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट आउँदो १४औँ महाधिवेशनमा साझा सभापतिको उम्मेदवार तय गरिने बताएका छन ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा संस्थापन इतर समूहले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले महाधिवेशनमा एकताको सन्देश दिन सबै नेताहरु एकैसाथ एउटै मञ्चमा उपस्थित भएको बताए । महाधिवेशनका लागि शुक्रबारदेखि देशभर वडा सम्मेलन शुरु हुन लागेको पूर्वसन्ध्यामा पौडेल समूहले आफ्नो समूह छिन्नभिन्न नभएर एक रहेको सन्देश दिन खोजेको थियो । पार्टी बचाउनका लागि पनि आफ्नो समूहबाट एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने नेता पौडेलको भनाइ थियो ।
वडा अधिवेशन सुरु हुन लागेकाले सभापतिका लागि एउटै व्यक्तिको नाममा सहमति गर्न अझै समय रहेकाले अहिले नै कुनै व्यक्तिको नाम किटानी नगरेको नेता पौडेले सुनाए । आफ्नो समूहबाट कसलाई के जिम्मेवारी दिँदा ठिक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको उनले बताए ।
संस्थापन इतर समूहबाट चाँडै नै एक जनाको नाम घोषणा गरिने उनको भनाइ थियो । देशभरका कार्यकर्तालाई आफ्नो समूहबाट साझा उम्मेदवार हुनेमा विश्वस्त हुनसमेत उनले आग्रह गरे । कांग्रेसलाई एकताबद्ध बनाउनमा आफ्नो समूहको प्रयास रहने नेता पौडेलले बताए ।
पार्टीको वडा अधिवेशनबाट पार्टीको वडा कार्यसमिति गठनका साथै क्षेत्रीय प्रतिनिधिहरू चयन हुने छन् । क्षेत्रीय प्रतिनिधि पार्टीको जिल्ला, क्षेत्रीय र नगर समितिको निर्वाचनमा सहभागी हुन पाउने छन् । क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्ने छन् । पार्टीको सबै भन्दा तल्लो तहको सङ्गठन गाउँ तथा नगर पालिकाको वडा समितिका सभापतिलगायतका प्रमुख पदहरू निर्वाचनकै माध्यमबाट चयन गरिँदैछ । विगतको प्रावधानमा परिवर्तन गर्दै काँग्रेसले यस पटक प्रमुख पदहरू क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाएको छ ।
यसैगरी, सर्वोच्च अदालतमा नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर कोरोनाको जोखिम न्यूनीकरण भएपछि मात्र महाधिवेशन गर्नुपर्ने आदेशको माग गर्दै उक्त रिट निवेदन दायर भएको हो ।

“विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो”, सांसद वैद्यले भने, “कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो ।”
पार्टीको महाधिवेशन तत्काल नगर्दा कांग्रेसको वैधानिकतामा कुनै असर नपर्ने रिट निवेदनमा उल्लेख छ । आइतबारका लागि उक्त विषयमा सुुनुवाइ हुनेछ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *