नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदै

काठमाडौं, १७ भदौ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा आज नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल साझ ५ः३० बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ । पहिलो खेल हेर्नका लागि कोरोनाका दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई मात्र प्रवेश दिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दुवै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्नेछ । सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताउनुभयो । उहाँले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिनुभयो । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ । प्रशिक्षक अलमुताइरीले आफनो टोलीेको मुख्य लक्ष्य पनि साफ च्याम्पियनसिप नै भएको बताउनुभयो ।
नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेलमा दर्शकसहित खेलाइने भएको छ । तर त्यसका लागि भने दर्शकले केहि शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ ।एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् । मन्त्रालय र प्रशासनबाट आवश्यक स्वीकृति आइसकेक उनले जानकारी दिए । दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ ।
यसैगरी, भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाचले नेपालविरुद्ध खेलका लागि २५ सदस्यीय बलियो टोलीको घोषणा गरेका थिए । कप्तान सुनील क्षेत्रीसहित साफ च्याम्पियनसिप खेल्ने टोली नै नेपाल आइपुगेको छ । यसअघि एएफसी कपमा सहभागी रहेका कारण केहि खेलाडी नआउने भनिएपनि प्रशिक्षक स्टिमाचले साफको तयारीलाई मध्यनजर गर्दै आफ्नो मुख्य टोली नै नेपाल लिएर आएका छन् ।भारतीय टोलीमा रहेका २५ खेलाडी मध्य तीन खेलाडी मात्र यसअघि नेपाल आएका थिए । कप्तान सुनील क्षेत्रीसँगै डिफेन्डर प्रितम कोटल र गोलरक्षक गुरप्रित सिंह सन्धुले सन् २०१५ मा भएको विश्वकप छनोट अन्तर्गत दोस्रो लेगको खेल खेलेका थिए । उक्त खेलमा सुनील र प्रितम दुवैले पूरा ९० मिनेट खेल्दा गुरप्रित भने बेन्चमा सिमित रहेका थिए ।
नेपालले पछिल्लो पटक भारतविरुद्ध सन् २०१७ मा खेलेको मैत्रीपूर्ण खेलमा भने सुनीलले खेलेका थिएनन् । उक्त खेलमा गुरप्रितले टोलीको कप्तानी गर्दा प्रितम कोटल सुरुवाती ११ मा तथा वैकल्पिक गोलरक्षक अमरिन्दर सिंह बेन्चमा सिमित रहेका थिए । त्यसबेला भारतका प्रशिक्षक एक समय नेपालको प्रशिक्षण सम्हालेका स्टेफान कन्सटानटाइन थिए ।
स्टिमाचको आगमनसँगै भारतीय टोलीमा निकै परिवर्तन आएको छ । उनले इन्डियन सुपर लिग (आइएसएल) का क्लबका खेलाडी समेट्दै २५ सदस्यीय टोलीको निर्माण गरेका छन् । टोलीमा डेब्यु गर्न बाँकी तीन जना खेलाडी मात्र छन् । गोलरक्षक धिरज सिंह मोइराङथेम , डिफेन्डर सेरटोन फर्नान्डेस र फरवार्ड रहिम अलीले हालसम्म राष्ट्रिय टोलीबाट खेलेका छैनन् । धिरज विगत २ वर्षदेखि टोलीमा रहेपनि डेब्यु गरेका छैनन् । उनले नेपालविरुद्ध खेलमा खेल्ने सम्भावना छ । रहिम र सेरीटन भने पहिलो पटक टोलीमा परेका हुन् ।
भारतले कोलकातामा रहेर दश दिन अभ्यास गरेको थियो । उक्त क्याम्पमा एएफसी कपमा व्यस्त रहेका एटिके मोहन बगान र बेंगलुरु एफसीका खेलाडी भने समावेश थिएनन् । २५ सदस्यीय टोलीमा प्रशिक्षण क्याम्पमा सहभागी नरहेका ९ खेलाडी पनि समावेश छन् । यी खेलाडीले पहिलो खेल सुरुवाती ११ मा रहेर खेल्ने सम्भावना कम छ ।
भारतको क्याम्पमा रहेका खेलाडीले आन्तरिक प्रशिक्षण खेलका रुपमा कोलकातामा दुई खेल खेलेका थिए । आइएफए एघारविरुद्ध खेलमा १–० को जित हासिल गर्दा आकाश मिश्राले गोल गरेका थिए । त्यस्तै मोहमडन स्पोर्टिङ विरुद्ध २–० को जितमा इशान पण्डिता र फारुख चौधरीले गोल गरेका थिए । गोलकर्ता मध्य २५ सदस्यीय टोलीमा आकाश र फारुखले मात्र स्थान बनाएका छन् । यसअघि विश्वकप छनोटको टोलीबाट इशानको स्थानमा फारुख टोलीमा आएका हुन् ।
भारतीय टोलीका कप्तान सुनील क्षेत्रीले सोमबार नेपाल आएपछि प्रशिक्षकको टोली छनोटबारे आफूलाई केहि थाहा नभएको अभिव्यक्ति दिएका थिए । ‘हाम्रो टोली कस्तो हुन्छ मलाई पनि थाहा छैन । हामी २५ जना खेलाडी आएका छौं । कसले खेल्न पाउँछ र विश्राम लिन्छ भन्ने प्रशिक्षकलाई नै थाहा छ । म आफैंले पनि यहिं आएर टोलीसँग प्रशिक्षण गर्दैछु,’ फरवार्ड सुनीलले बताए ।
यता प्रशिक्षक स्टिमाचले भने नेपालका लागि प्रस्थान गर्नुअघि मैत्रीपूर्ण खेलका लागि टोली निकै होसियार हुनुपर्ने बताएका थिए । ‘हामीले १० दिनको तयारीबाट धेरै अपेक्षा गर्न सकिदैन । नेपालविरुद्ध खेललाई लिएर हामी होसियार रहनुपर्छ । एटिके र बेंगलुरुका खेलाडी नियमित खेलेर आएका कारण राम्रो स्थितिमा छन् होला । क्याम्पमा रहेका खेलाडीलाई पनि समेटेर टोली तयार गर्नेछौं,’ टोली घोषणाका क्रममा उनले भनेका थिए ।भारतको टोलीमा कप्तान सुनील ३७ वर्ष र डिफेन्डर राहुल भेके ३० वर्ष बाहेक सबै खेलाडी ३० वर्ष मुनिका छन् । विशेषगरी प्रशिक्षक स्टिमाचले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेका छन् । सन् २०१७ मा यू–१७ विश्वकप खेलेका गोलरक्षक धिरज, मिडफिल्डर लालेङमविया (अपुइआ), सुरेश वाङजाम र ज्याकसन सिंह टोलीमा रहेका छन् । आइएसएलको अनुभव बोकेका खेलाडी भएकाले पनि भारतीय टोलीलाई कम उमेरका बाबजुद निकै अनुभवी मान्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *