आउँदो हप्ताबाट दुई फिल्म ‘रीत’ र ‘अञ्जली’ को छायांकन सुरु हुने

काठमाडौं, १७ भदौ । आउँदो हप्ताबाट दुई फिल्म ‘रीत’ र ‘अञ्जली’ को पनि छायांकन सुरु हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गर्न लागेको ‘रीत’ लिम्बु संस्कृतिमा बन्न लागेको हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित हुनेछ । दुवै फिल्मलाई दिनेश लिङ्देनले निर्देशन गर्नेछन् । ‘रीत’ लाई पूर्वका विभिन्न स्थानमा खिचिनेछ भने ‘अञ्जली’ को उपत्यका आसपासमा सुटिङ हुनेछ ।
दुवै फिल्ममा एलिना बासकोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बु, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापो लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रीत’ र ‘अञ्जली’ को निर्मातामा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली रहेका छन् । दुवै फिल्मको कथा सागर केरुङले लेखेका हुन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर छायांकन गरिने निर्देशक लिङ्देनले बताए । गत वर्ष कोरोना भाइरसको महामारीका कारण ९ महिना बन्द भएर खुलेको फिल्म क्षेत्र संक्रमणको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो । गत बैशाखबाट सरकारले अनिश्चितकालका लागि फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध चार महिना वितिसक्दा पनि फुकुवा हुने छाँटकाँट देखिएको छैन । तर, निषेधाज्ञा खुकुलो भएदेखि एकपछि अर्को फिल्म छायांकनमा निस्किरहेका छन् ।
यसैगरी, कोरोनाका कारण नेपालमा कुनै क्षेत्र सबैभन्दा बढी प्रभावित छ भने त्यो फिल्म क्षेत्र हो । भीडभाड हुने क्षेत्र भएकाले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गत वर्ष ९ महिना फिल्म क्षेत्रका गतिविधिमा प्रतिबन्ध लगायो । सरकारले अनुमति दिएपछि बीचमा केही फिल्म प्रदर्शन र निर्माण भए । तर, फिल्म क्षेत्र जुर्मुराउन नपाउँदै कोरोनोको दोस्रो लहर फैलिएसँगै फेरि बन्द भयो ।
संक्रमण रोकथामका लागि गत बैशाखबाट जारी भएको निषेधाज्ञा खुकुलो गराएर सरकारले भीडभाड हुने विभिन्न व्यवसायलाई सञ्चालको अनुमति दिइसकेको छ । तर, फिल्म क्षेत्र खुलाउनेबारे कुनै निर्णय भएको छैन । बरु, फिल्म क्षेत्रमा मात्रै कोरोना लुकेर बसेको झैँ गरेर सिसिएमसीले संक्रमण दर १५ प्रतिशतमा झरेपछि सिनेमा हल लगायतका क्षेत्र खोल्न दिने कार्यविधि बनाएको छ ।
किस्ताबन्दीको कोरोना महामारीका कारण धरासायी र नाजुक अवस्थामा पुगेको फिल्म क्षेत्रलाई पुनःसुचारु गर्न सरकारले कुनै चासो र गम्भीरता नदेखाएपछि फिल्मकर्मीहरुले विभिन्न राजनीतिक दलका शिर्ष नेतालाई भेट गरेर फिल्म क्षेत्रको जर्जर अवस्थाबारे अवगत गराएका छन् । कतिपयले सामाजिक सञ्जालमार्फत फिल्म क्षेत्रलाई अविलम्ब खुलाउन सरकारलाई दबाब दिएका छन् ।
निर्माता तथा हल मालिक नरेन्द्र महर्जनले सिनेमा हलभित्र मात्र कोरोना लुकेर बसेको हो भनेर प्रश्न गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘नेपालमा कोरोना विशेषज्ञहरुको विचारमा कोरोना अब सिनेमा हलमा मात्र बाँकी छ रे ! किनकि लगभग दुई वर्षदेखि बन्द भएकाले सिनेमा हलभित्र कोरोना लुकेर बसेको होला । त्यही भएर सबै व्यवसाय खुले पनि सिनेमा हल खुल्ने तरखर नै छैन ।’
नेपालभन्दा कोरोनाको भयावह अवस्था रहेको भारतमा सिनेमा हलहरु खुलेर हरेक हप्ता नयाँ फिल्म प्रदर्शन हुन थालेका छन् । भलै, फिल्म औसत चलेका हुन् तर दर्शक फर्किने आशमा त्यहाँका फिल्मकर्मीहरु बसेका छन् । तर, नेपालमा अरु क्षेत्र खुले पनि सिनेमा हल बन्दको बन्द नै छ । जबसम्म सिनेमा हल खुलेर फिल्म प्रदर्शन हुन थाल्दैन, तबसम्म फिल्म क्षेत्र चलायमान हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *