कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.१ प्रतिशत

काठमाडौँ, १७ भदौ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत सङ्क्रमणमुक्त भएका थिए । कोरोना भाइरस सङ्क्रमितभन्दा बुधबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढेको छ । बुधबार सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना सङ्क्रमणमुक्त भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।
अहिलेसम्म सात लाख १९ हजार ३३६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको दर पनि बढेको छ । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी कूल ८०८ जनाको परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आरडिटी पीसीआर विधिमार्फत कूल २०० जनाको परीक्षण गर्दा ३० र ६०८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको हो ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २८, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । सङ्क्रमण पुष्टि भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत बैतडीका ३२ वर्षीय युवक र अछामका ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै सोही अवधिमा १४ जना सङ्क्रमणमुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म तीन लाख १४ हजार १४७ जनाको परीक्षण गर्दा ४६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण यस प्रदेशमा हालसम्म ५८५ जनाको मृत्यु भइसकेको छ ।
यस्तै, बुधबार प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा आठ, धनकुटामा पाँच, भोजपुरमा तीन, ताप्लेजुङमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *