नेपाली कांग्रेसमा नयाँले कहिले अवसर पाउने ?

 


काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसमा नयाँले कहिले अवसर पाउने ? भन्ने प्रश्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले गरेका छन । बुधबार पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेदवारी घोषणा गर्दै युवा नेता गुरुङले भने, “अहिले कांग्रेसमा महिला, आदिवासी÷जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन्, यस्तो अवस्थामा नयाँले कहिले अवसर पाउने ?”पार्टीको आसन्न १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने उनले घोषणा गरेका छन । पत्रकार सम्मेलनमा उनले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुका साथै आफ्ना योजनाबारे समेत जानकारी गराएका छन ।
पार्टीमा अब युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै उनले एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाए ।
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहेका उनले आफू पार्टी नेतृत्वमा आए पार्टीभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्ने योजना रहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सहज पहँुचयोग्य बनाउने दृढता व्यक्त गरे । उम्मेदवारी घोषणालाई कुनै पनि नेताले सौदाबाजीको साधन बनाउन नहुने धारणा व्यक्त गर्दै उनले आफू जुन पदमा घोषणा गरे त्यही पदमा मात्र उम्मेदवारी दिने विश्वास दिलाए । पार्टीको क्रियाशील सदस्यतामा युवा वर्गको उल्लेख्य सहभागिता देखिएको अहिलेका नेताबाट सन्तुष्ट हुन नसकेको नेता कार्यकर्ताको आफूलाई सहयोग हुने उनको अपेक्षा थियो ।
यसैगरी, देशैभर विभिन्न तहको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी चलिरहेको छ । भदौ १८ गते कांग्रेसको वडा तहको निर्वाचन हुँदैछ । यससँग नगर÷गाउँ समितिको नेतृत्व चयन गरिनेछ ।
जिल्ला तहको निर्वाचन आउने अझै समय बाँकी नै छ तर, विकट हिमाली जिल्ला मनाङमा भने वडा तहको महाधिवेशनअगावै नेतृत्व टुङ्गो लगाइसकेको छ । मनाङ कांग्रेसले वडा तहको निर्वाचनअगावै नेतृत्व चयन गरेको छ । देशका सबै क्षेत्रमा कांग्रेसको १४औँ महाधिवेशनको तयारीमा भइरहेको र कांग्रेसले समय तालिका निर्धारण गरे पनि कही अझै हुने नहुने अन्योलता छ ।
पटकपटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसले यही भदौ १८ गतेदेखि वडा तहबाट अधिवेशन सुरु गर्ने समय तालिका निर्धारण गरे पनि आवश्यक तयारीका लागि पर्याप्त समय नहुँदा कार्यकर्ताबीच अन्योलता छाएको छ तर, मनाङमा भने विवादरहित तवरबाट सर्वसम्मत नयाँ नेतृत्वको टुङ्गो लागिसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।
कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शङ्कर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको छ । दुई कार्यकाल नेतृत्व सम्हालेका वर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताको छलफलबाट आगामी कार्यकालको नयाँ नेतृत्व टुङ्गो लगाइएको उनले बताए ।
जिल्ला सभापतिसहित मनाङ कांग्रेसले सङ्घ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्य समिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले बताए । नेतृत्व छनोट गर्ने विषयमा जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर बन्ने भन्दै बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने सभापति टेकबहादुरको भनाइ छ ।
देशका विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवादकै कारण उल्झनमा रहेको कांग्रेसमा मनाङ कांग्रेसले गतिलो उदाहरण बनेको छ । देशका अधिकांश जिल्लामा क्रियाशील सदस्यता, नेतृत्व दाबीलगायत विषयमा विवाद हुँदा अधिवेशनसमेत अन्योलता आएको छ ।
विशेष गरी कांग्रेसभित्र गुट उपगुटको राजनीति मौलाउँदै गएकाले समस्यासमेत थपिँदै गएको कांग्रेस शुभेच्छुक बताउँछन् । कांग्रेसभित्र अधिवेशनका बेला देखिएको गुट उपगुटले स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचनमा समेत असर गर्ने गरेको छ ।
त्यसैले पार्टी बलियो हुनुको सट्टा झनै कमजोर बन्ने गरेको कांग्रेस कार्यकर्ताले स्वीकार गर्दै आएका पनि छन् । कांग्रेसभित्रको विवाद र द्वन्द्व निवारणमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको छ । मनाङमा स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद भएको छैन ।
देशका अन्य जिल्लामा उम्मेदवार तय नहुँदै मनाङ कांग्रेसले भने दोहो¥याएर प्रचारप्रसार गरिसकेको उदाहरण छन् । आगामी दिनमा पनि पार्टी सङ्गठनको हित र देशका लागि स्वार्थभन्दा माथि उठेर योगदान, योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्न मनाङ कांग्रेसले देशभरका लोकतान्त्रिक विचारधाराका नेतृत्वकर्तालाई आग्रह गरेको छ ।
यस्तै, नेपाली कांगे्रस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले बुधबार पार्टी जिल्ला सभापतिलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो ।
तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन । बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकतान्त्रिक शैलीबाट अपदस्त गर्ने तथा गैरराजनीतिक क्रियाकलापलाई राजनीतिक रङ दिएको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो ।
विसं २०७० सालको संविधान सभा निर्वाचनमा साविक चितवन क्षेत्र नम्बर ४ मा पार्टी केन्द्रीय सभापति सुशील कोइरालाको उम्मेदवारी रहेको स्थानमा बागी उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारित रही विसं २०७० कात्तिक २ गतेको निर्णयले केन्द्रीय समितिमा अनुशासनको कारबाहीका लागि पत्र पठाइएको थियो । उनसँगै कारबाहीमा परेका अन्यको फुकुवा भई निर्वाचनमा टिकटसमेत दिईनु तर कोइरालाको फुकुवा नहुनु दुःखद् रहेको तरुणदलले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *