नेपालमा कोरोना निको हुने दर ९३.९ प्रतिशत

काठमाडौँ, १६ भदौ । नेपालमा कोरोना निको हुने दर ९३.९ प्रतिशत रहेको छ । मंगलबार सङ्क्रमणबाट निको भई एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६ हजार ३०६ जना निको भई घर फर्किएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण मंगलबार एकै दिन एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२ हजार २२२ जनामा परीक्षण गर्दा एक हजार ६६४ जनामा सङ्क्रमण देखिएको हो । नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा एक हजार ५२३ र एन्टिजेनबाट १४१ जना सङ्क्रमित भएका हुन् ।हाल ३५ हजार ५९१ सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० वटा रहेका छन् । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७५० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६२.३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।
यस्तै ६३७ जना सघन उपचारकक्ष (आइसीयू), १६४ जना भेन्टिलेटर, ३३ हजार २१४ जना होम आइसोलेशन, दुई हजार ३७७ जना संस्थागत आइसोलेशन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।
यसैगरी, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा २९७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा लमजुङको बेँसीसहर नगरपालिका–११ का ६७ वर्षीया महिला र म्याग्दीको बेनी नगरपालिका–२ का ७२ वर्षीय पुरुष छन । योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९५ पुगेको छ । प्रदेशमा हालसम्म ८१ हजार ५७५ जना कोरोना सङ्क्रमित भएकामा ७७ हजार २२ सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा हाल तीन हजार २५८ जना सक्रिय सङ्क्रमित र दुई हजार ८९३ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै, मंगलबार प्रदेश नं १ मा ३८७ जनामा कोरोना सङ्क्रण भएको छ । एक हजार ११४ जनाको पिसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६ मध्ये विराटनगरमा ४३, इलाममा पाँच, सङ्खुवासभामा तीन, भोजपुर र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा, उदयपुर र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा मंगलबार ३९३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *