एभरेष्ट प्रिमियर लिग कमल, रिजन, हसिम र गौतमले पनि खेल्ने


काठमाडौं, १५ भदौ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) दुई बायाँ हाते तीव्र गतिका युवा बलर कमल खत्री, रिजन ढकाल, अनुवभी ब्याट्सम्यान हसिम अन्सारी र बागमती प्रदेशका युवा तीव्र गतिका बलर गौतम केसीले खेल्ने भएका छन । खत्री र ढकालले साविक विजेता ललितपुर प्याट्रियटर्सबाट खेल्ने भएका छन् । ललितपुरले दुई बायाँ हाते तीव्र गतिका बलर कमल र रिजनलाई टोलीमा अनुबन्ध गरेको हो । यी दुबै खेलाडीलाई ललितपुरले न्यूनतम मूल्य ५० हजारमा टोलीमा अनुबन्ध गरेको हो । इपिएलले कोरोना कारण हरेक टोलीमा एक एक खेलाडी संख्या बढाएको छ । फ्रेन्चाइज टोलीले चोट, सन्न्यास, विदेशमा भएको वा कुनै कारण टोलीमा स्थान खाली भएमा शुक्रबार युवा खेलाडी पूरा गर्न मिनि अक्सन भएको थियो ।कमल यसअघिको सिजनमा ललितपुरमा ट्यालेन्ट हन्टको रुपमा टोलीमा थिए । प्रधानमन्त्री कपमा प्रदेश १ ले कमल खत्रीलाई टोलीमा नराखेपछि आलोचना समेत भएको थियो । कमलले २०१९ मा पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा बुटवल ब्लास्टरबाट विराटनगर टाइटन्सविरुद्ध खेल्दै एक विकेट लिएका थिए ।
कमल खत्री
कमल नेपाल टोली ओमान भ्रमणको लागि तयारी गर्दा टियुमा नेट बलरको रुपमा रहेका थिए । नेट बलरको रुपमा राम्रो छाप छाडेपछि ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले टोलीमा लिने निर्णय लिएको हो । ‘इपिएल खेल्छु भन्ने खासै आशा थिएन । ललितपुरले रिलिज गरेपछि सम्भावना कम थियो । नेट बलरको रुपमा खेल्ने अवसर पाउँदा त्यसले इपिएल खेल्न सहयोग गर्यो’, कमलले भने ।
रिजन नेपालका लागि यू१६ र यू१९ प्रतिनिधित्व गरि सकेका छन् । बागमती प्रदेशका रिजन ढकाल प्रधानमन्त्री कप प्रतियोगितामा रहेपनि सकै खेलमा बेन्चमा बसेका थिए । २०१७ मा नेपालका लागि यू१९ खेलेका उनी चोटका कारण केहि समय मैदान बाहिर रहनु पर्यो ।
‘पहिलो पटक फ्रेन्चाइज लिग खेल्न लागेको हुँ । पहिला कुनैपनि फ्रेन्चाइज लिगमा थिएन । यसपटक ललितपुरले लिएपछि खेल्न उत्साहित र खुसी छु’, रिजनले भने । ‘नेपालको ठूलो प्रतियोगिता हो । विदेशी खेलाडीहरुबाट धेरै कुरा सिक्न पाइन्छ । प्लेइङ ११ मा परेभने आफ्नो क्षमता देखाउने अवसर रहने छ’, उनले भने ।
रिजन ढकाल
रिजन ब्याक (पछाडि) चोटका कारण सुधार हुन समय लागेको थियो । नशा च्यापिएको कारण उनलाई ठिक हुन समय लागेको थियो ।ललितपुरले विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरेको छ ।ललितपुर गतवर्ष विदेशी खेलाडीको रुपमा पाकिस्तानका हमाद हसन, हसन खान, मिर हाम्जा र श्रीलंका बायाँ हाते ओपनर उपुल थरंगालाई अनुबन्ध गरेको थियो । तर कोरोना कारण समयमै इपिएल हुन सकेन । साविक विजेता ललितपुरमा ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ र योगेन्द्रसिंह कार्की लगायतका खेलाडी छन् । ट्यालेन्ट हन्टबाट बिभत्सु थापा र अरियो पौडेल छानिएका थिए । इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ ।
यसैगरी, प्रदेश दुईका अनुवभी ब्याट्सम्यान हसिम अन्सारी र बागमती प्रदेशका युवा तीव्र गतिका बलर गौतम केसीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । हसिम र गौतम न्यूनतम मूल्य ५० हजार रुपैयाँमा अनुबन्ध भएका हुन् ।
हसिम प्रदेश दुईका अनुभवी ब्याट्सम्यान हुन् । एक दशक भन्दा लामो समयदेखि घरेलु क्रिकेटमा निरन्तर सक्रिय रहँदै आएका छन् । नेपालका लागि यू१९ विश्वकप खेलेका हसिम शीर्ष र मध्यक्रममा ब्याटिङ गर्ने गर्दछन् । गत संस्करणको प्रधानमन्त्री कपमा भने हसिमलाई प्रदेश २ ले मौका दिएको थिएन । पछिल्लो पटक हसिमले २०७६ मा सुनसरीमा भएको मनमोहन मेमोरियल क्रिकेट प्रतियोगितामा प्रदेश २ बाट खेलेका थिए ।
२०१२ को यू१९ विश्वकप नेपाली टोलीमा थिए । ‘मौका पाएको छु । आफ्नो र टिम दुबैको लागि राम्रो प्रदर्शन गर्न सक्दो प्रयास गर्ने छु । चितवनले मलाई विश्वास गरेकोमा धेरै धेरै धन्यावाद दिन चाहन्छु’, हसिमले भने । ‘मेरो लक्ष्य इपिएलमा आफूलाई प्रमाणित गर्ने हुने छ । मौका गुमाउँन चाहँदैन’, हसिमले भने ।गौतमले प्रधानमन्त्री कपमा बागमती प्रदेशबाट चार खेलमा ११ विकेट लिएका थिए । जसक्रममा गौतम प्रदेश २ विरुद्ध चार विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । त्रिभुवन आर्मीविरुद्ध पाँच र लुम्बिनी प्रदेशविरुद्ध दुई विकेट लिएका थिए ।
‘यस अघिको म चितवन टोलीमा ट्यालेन्ट हन्टबाट थिए । बीचमा केहि समय चोटका कारण पनि हुन सकिन । यस पटक अनुबन्ध हुँदा खुसी छु । इपिएलमा धेरै कुरा सिक्न पाइन्छ’ , गौतमले भने । ‘धेरै अगाडि सोचेको छैन । तर मौका पाएकोमा भने राम्रो गर्ने छु । नेपाली टोलीका सिनियर र विदेशी खेलाडीबाट धेरै कुरा सिक्न चाहन्छु । पछिल्लो समय प्रधानमन्त्री कपमा पनि राम्रो प्रदर्शन भएको थियो । टियुमा खेलि राखेको हुँदा अझ सहज हुन्छ’, गौतमले भने ।
प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेपनि काठमाडौं मेयर्स कपमा भने बागमतीले उनलाई एक खेलमा मात्र मौका दिएको थियो । गौतम दोस्रो संस्करणको पोखरा प्रिमियर लिगमा पारस खड्का कप्तान रहेको चितवन टाइगर्सले उपाधि जित्दा टोलीका सदस्य थिए । तर खेल्ने मौका भने पाएका थिएनन् । घरेलु क्रिकेटमा राम्रो सम्भावना देखाएका युवा तीव्र गतिका बलर हुन् । तल्लोक्रममा ब्याटिङको क्षमता पनि राख्छन् ।चितवनले न्यूनतम मूल्यमा लुम्बिनी प्रदेशका देव खनाल र त्रिभुवन आर्मी क्लबका अलराउन्डर राजेश पुलामी मगरलाई पनि न्यूनतम मूल्यमा अनुबन्ध गरेको छ ।
चितवन टाइगर्स
चितवनले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद, पाकिस्तानका अलराउन्डर दानिस अजिज, मलेसिया चर्चित युवा ब्याट्सम्यान विरनदीप सिंह र श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनमा दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे, खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् । इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *