अभिनेत्री साम्राज्ञी आरएल शाहसँग अहिले आधा दर्जन फिल्म


काठमाडौं, १४ भदौ । अभिनेत्री साम्राज्ञी आरएल शाहसँग अहिले आधा दर्जन फिल्म रहेका छन् । भदौ १५ गतेबाट उनी कपिल रिजालको निर्देशनमा बन्न लागेको फिल्ममा काम गर्दैछिन् । यसमा उनको जोडी कलाकार जितु नेपालसँग बाँधिएको छ । योसँगै उनको पाइपलाइनमा हेमराज विसी, मिलन चाम्स र प्रवेश पौडेलको फिल्म पनि छ । यसरी हेर्दा विवादले उनको मागमा कुनै कमी आएको देखिन्न । लकडाउनपछि उनले कपडाको अनलाइन व्यवसाय समेत सुरु गरेकी छन् ।
फिल्म ‘ड्रिम्स र ए मेरो हजुर २’ को सफलतापछि फिल्म क्षेत्रले साम्राज्ञी आरएल शाहलाई नायिकाको स्टारडमको भ्याकुम पूरा गर्ने अभिनेत्रीको रुपमा हेरेको थियो । यी दुई फिल्मबाट उनले आफ्नो स्टारडम प्रमाणित गरेकी थिइन् । उनको नामैले फिल्म चल्छ भन्ने विश्वास त्यसबेला फिल्ममेकरमा देखिएको थियो । यसैले उनलाई हिरो बारबार पारिश्रमिक दिन समेत निर्माताहरु तयार भए ।
तर, उनले आफ्नो लोकप्रियता र स्टारडमलाई बुझ्न सकिनन् । श्रृंखलाबद्ध विवादले उनको क्रेजमा ठूलो धक्का पुगेको छ । उनी तालीभन्दा गालीको धनी भएकी छन् । कहिले प्रेमीसँगको अन्तरंग तस्विरले होस् वा कहिले प्रशंसकलाई चिड्याउने अभिव्यक्तिका कारण उनी विवाद र आलोचनाबाट टाढा बस्न सकेकी छैनन् । यसको असर उनका फिल्मको व्यापारमा समेत पर्न थालेको छ ।
उनी अभिनीत पछिल्लो दुई फिल्म ‘मारुनी र रातो टीका निधारमा’ बक्सअफिसमा नमज्जाले पिटियो । यसको कारण साम्राज्ञीको श्रृंखलाबद्ध विवादलाई मानिएको छ । तर, फिल्म असफल भए पनि उनीमाथि निर्माताको विश्वास अझै घटेको छैन । निषेधाज्ञाअघि उनले फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन सकाएकी थिइन् ।
यसैगरी, नेपाल र अमेरिकामा छायांकन भएको फिल्म ‘लाइफ इन एलए’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिवार निर्माण टिमले सार्वजनिक गरेको दुईवटा पोस्टर रोमान्टिक थिममा तयार पारिएको छ । पहिलो पोस्टरमा नव–अभिनेता ब्यास बिस्सुलाई अभिनेत्री शिल्पा मास्केसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ भने दोस्रो पोस्टरमा उनको अंगालोमा अभिनेत्री अकेशा विष्ट छिन् ।
फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको पोस्टरले प्रस्ट्याउँछ । निर्माण टिमले सोमवार (पर्सी) फिल्ममा समावेश पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक गर्दैछ । हाल पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्मको ७५ प्रतिशत अमेरिका र २५ प्रतिशत नेपालमा छायांकन भएको हो । अमेरिकामा बस्ने नेपालीको सफलताको कथा भन्ने फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।
फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ । त्यस्तै, फिल्मको एसोसिएट निर्देशक दीपक ओली हुन् । उनले ‘पण्डित बाजेको लौरी, कृष्ण लीला’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । सरकारले सिनेमा हल खोल्न अनुमति दिएको खण्डमा आउँदो दशैंमा फिल्म प्रदर्शनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *