शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ पनि ओटीटीमा रिलिज

काठमाण्डौ, १३ भदौ । शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ पनि ओटीटीमा रिलिज भएको छ । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि गत वर्ष ‘कोपिला र हिरो रिर्टन्स’ फिल्म डिजिटल रिलिज भएका थिए । गत महिना अर्को फिल्म ‘लभ सर्कल’ पनि डिजिटल रिलिज भयो । हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण र अभिनय गरेको फिल्म ओहो मुभिज एपबाट रिलिज भएको हो । फिल्ममा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतको पनि अभिनय छ । २ घन्टा लामो फिल्मलाई प्ले स्टोरबाट ओहो मुभिजको एप डाउनलोड गरेर सःशुल्क हेर्न सकिने सितारामले बताए ।
विश्वभर शुक्रवार सिनेमा हलमा फिल्म रिलिज हुने परिपाटी छ । तर, कोरोना महामारी फैलिएयता नेपालमा यो क्रम रोकिएको छ । गत वर्ष लकडाउनभन्दा अगावै बन्द रहेका सिनेमा हल ९ महिनापछि खुले । संक्रमणको दोस्रो लहर फैलिएसँगै गत बैशाखबाट फेरि बन्द रहेका हल अब कहिलेबाट खुल्छन्, कुनै टुंगो छैन । जसले गर्दा रिलिजका लागि तयार दर्जनौं फिल्म अन्योलमा छन् ।
कोरोना महामारीपछि विश्वका ठूला फिल्म उद्योग मानिने हलिउड र बलिउडमा ओटीटी प्लेटफर्म सिनेमा हलको विकल्पको रुपमा उदाएको छ । महामारीका कारण सिनेमा हल बन्द भएपछि त्यहाँका धेरै आशातित फिल्म सिधै ओटीटीमा रिलिज भए । नेपालमा पनि ओटीटी प्लेटफर्म नउदाएका होइनन् । तर, कुनैले नयाँ फिल्म किनेर रिलिज गर्ने साहस र जोखिम उठाउन सकेका छैनन् ।
यद्यपि, लकडाउनको समयमा केही निर्माताले जोखिम उठाएरै नयाँ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरे । एक समयको चर्चित हाँस्यटेलिश्रृंखला ‘मेरी बाँस्सै’ मा सिताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीको चरित्रमा दर्शकले निकै रुचाइएका थिए । फिल्ममा पनि सिताराम र कुञ्जना त्यही चरित्र र गेटअपमा देखिएका छन् । तराईका विभिन्न स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायांकन गरेका हुन् । मिलन श्रेष्ठ रहेको फिल्मको स्क्रिनप्ले र डाइलग धुर्मुस–सुन्तली स्वयंले तयार पारेका हुन् ।
यसैगरी, नेपाली फिल्म क्षेत्रमा कलाकारको अभिनयभन्दा पारिश्रमिकको बढी चर्चा हुन्छ । कुनै कलाकारले नयाँ फिल्म साइन गरेपछि पारिश्रमिकको खोजीनिती सुरु हुन्छ । कतिले फिल्ममा लिएको पारिश्रमिक आफैंले खुलाउने गरेका छन् भने प्रायः यसलाई गोप्य नै राख्न चाहन्छन् । पछिल्लो समय कलाकारहरुले फिल्मसँगै म्यूजिक भिडियो र विज्ञापनबाट समेत राम्रो आम्दानी गर्दै आएका छन् ।
तर, नेपाली कलाकारहरुले आम्दानीको कर बुझाएको भने खासै सुनिएको छैन । न त आजसम्म कसैले आफूले कर बुझाएको नै भनेका छन् । छिमेकी मुलुक भारतमा कलाकारबीच सबैभन्दा बढी कर तिर्न हानाथाप हुँदा नेपालमा भने नाम चलेका कलाकारहरु नै आम्दानीको कर तिर्न आनाकानी गरेको देखिन्छ । कर कार्यालयले पनि कलाकारको आम्दानीमाथि निगरानी गर्न सकेको छैन ।
लामो समयदेखि नेपाली कलाकारले कर नतिर्ने गरेको विषयमा बहस भइरहँदा अभिनेत्री आँचल शर्मा कर तिर्न कर कार्यालय नै पुगेको एक भिडियो यतिबेला सोसल मिडियामा भाइरल भएको छ । उनले बिहीवार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा पुगेर आफ्नो आम्दानीको कर तिरेकी हुन् । उनी कर तिर्न पुग्दा कर कार्यालयका कर्मचारीहरु नै चकित परेका थिए ।
अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले आफ्नो ट्विटर ह्यान्डलमा ‘एकजना नयाँ करदाता थपियो’ भन्दै आँचल कर बुझाउन पुग्दाको एक भिडियो शेयर गरेका छन् । भिडियोमा उपसचिव कर्णले उनलाई सोधेका छन्, ‘तपाईंलाई हाम्रो अड्डा कस्तो लाग्यो ?’ जवाफमा उनले भनेकी छन्, ‘सर्भिस एकदमै राम्रो छ ।’ कर तिरेर फर्किँदा उनले त्यहाँका कर्मचारीलाई नमस्कार गरेकी थिइन् ।
उक्त १३ सेकेन्डको भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् । कसैले कर कार्यालयमा सर्वसाधारण जनताले कर तिर्न जाँदा अत्यन्त सास्ती बेहोर्नुपर्ने तर सेलेव्रिटी, पहुँचवाला नेता वा त्यहाँका कर्मचारीका आफन्तले राम्रो सेवा पाउने गरेको गुनासो पोखेका छन् । कसैले भने अड्डा कस्तो लाग्यो भनेर सर्वसाधारणलाई पनि सोध्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *