शीर्ष नेताबीच सहमति, अनशन तोडियो

काठमाडौँ, १३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा सहमति भएको छ । सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापतिका माग सम्बोधन गर्ने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिएका छन ।
सभापति देउवासँग कुराकानी गरेपछि वरिष्ठ नेता पौडेल समूहले आफू निकट नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस नेता सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो । देशभरका ६ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए । उनका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ ।
कांग्रेसले बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वनजनिक गर्नाका साथै अरू जिल्लाको पनि एक÷दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी गरेको छ । बैठकमा एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने, क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमा सहमति जुटेको उनले बताए ।
कांग्रेसकोे १४औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
यसैगरी, कांग्रेस केही जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न माग गर्दै भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनशन सुरु गरेका थिए । शीर्ष नेताबीच सहमति भएपछि चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनशन स्थगन भएको छ ।
देशभरका ७७ वटै जिल्लाको वडामा एकैपटक अधिवेशन प्रारम्भ गर्नुपर्ने, एउटा निर्वाचन क्षेत्र भएको जिल्ला सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने, क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्ने र त्रुटि भएको भए सच्याउनु पाउनुपर्नेलगायत माग राखेर जारी अनशन शनिबार साँझ स्थगन भएको हो ।
जिल्ला सभापतिको अनशन तोडाउन क्रियाशील सदस्यता विवाद समाधानमा खटिएका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखक सानेपा पुगेका थिए ।
पार्टीका संस्थापन इतर पक्षको समेत समर्थन रहेको उक्त अनशनमा पार्टीका सभापति शेरबहादुर देउवा जिल्ला सभापतिले राखेका मागप्रति सकारात्मक देखिएपछि अनशन स्थगन गरिएको कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिए ।
“जिल्ला सभापतिले राखेको तीनवटै मागप्रति नेतृत्व सकारात्मक देखिएको र समयमा महाधिवेशन गर्न इच्छुक देखिएकाले हामीले अनशन स्थगन गरेका हौँ”, उनले भने । जिल्ला सभापतिले राखेका माग र सहमतिमा अधिवेशन गराउनेबारे यसअघि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *