दीपक–दीपाको समुह फिल्म क्षेत्रकै सबैभन्दा शक्तिशाली टिम

काठमाडौं, ८ भदौं । नेपाली फिल्म इतिहासमा सबैभन्दा सफल फिल्म ‘छक्का पञ्जा’ सिरिज हो । यसका तीनवटै सिरिजले कमाइमा नयाँ रेकर्ड बनाएको थियो । नेपाली फिल्मले घरेलु बजारमै यतिसम्म कमाई गर्न सक्छ भन्ने उदाहरण पेश गरेको यो फिल्मका तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी उनलाई एक दशकसम्म प्रशारण भएको हास्यटेलिश्रृंखला ‘तीतो सत्य’ ले हास्य कलाकारको रुपमा पहिचान दिलाएको थियो । यसै सिरियलका कलाकार दीपकराज गिरीसँग दर्शकले उनको जोडी निकै रुचाए ।
‘तीतो सत्य’ भन्दा अगाडि दीपाश्रीले ‘गाउँले, चाँदनी, संगिनी’ लगायतमा फिल्ममा पनि अभिनय गरेकी थिइन् । फिल्म ‘गाउँले’ मा समावेश ‘गोली सिसाको’ गीतमा उनले अभिनेता राजेश हमालसँग एकसाथ नृत्य गरेकी थिइन्, जुन गीत आज पनि उतिक्कै लोकप्रिय छ । गत वर्ष लकडाउनमा राजेश हमालको विषयमा दिएको एउटा अभिव्यक्तिले उनी निकै विवादमा तानिएकी थिइन् ।
प्रविधिको विकाससँगै टेलिश्रृंखलाप्रति दर्शकको रुची घटेपछि दीपा र दीपकराजले ‘तीतो सत्य’ सदाका लागि बन्द गरेर पहिलो पटक फिल्म ‘६ एकान ६’ निर्माण गरे । यो जोडीको पहिलो प्रयास नै सफल भयो । त्यसता यो टिमले फिल्म क्षेत्रमा आफ्नो प्रभुत्व जमाएको छ । ‘छक्का पञ्जा’ सिरिजको सफलतापछि दीपक–दीपाको समुह फिल्म क्षेत्रकै सबैभन्दा शक्तिशाली टिम बनेको छ ।
नेपालमा फिल्म निर्देशनमा महिलाको उपस्थिति अत्यन्त न्यून छ । अभिनयसँगै निर्देशनमा पनि पुरुषकै हालिमुहाली रहेको यस क्षेत्रमा दीपाश्रीले आफ्नो अलग पहिचान बनाएकी छन् । आजको दिनमा सफल निर्देशकको रुपमा उनको नाम पुरुष निर्देशकभन्दा पनि अगाडि आउँछ । सफल फिल्मका रुपमा ह्याट्रिक गरेकी उनी उमेरले ४६ वर्षको भए पनि अविवाहित छिन् । दीपाश्रीलाई उनका टिमका सदस्यहरुले विशेष रुपमा ‘बर्थ–डे विस’ गरेका छन् । तीन दशकदेखि उनीसँग निरन्तर सहकार्य गर्दै आएका दीपकराज गिरीले दीपाश्रीलाई आफ्नो संसारकै सबैभन्दा जाती साथी भनेका छन् ।
त्यसैगरी, फिल्म ‘एक्स ९’को छायांकन हनुे भएको छ । पौषको तेस्रो सातादेखि फिल्म ‘एक्स ९’को छायांकन नेपाल, क्यान्डा र युरोप गरिने निर्माण पक्षले जानाएको छ । यस फिल्ममा अभिनेता पुष्प खड्काको प्रवेश भएको छ । आइतबार निर्माण टिमले उनीसँग औपचारिक रुपमा कागजी सम्झौता गरेको हो । फिल्ममा पुष्प एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ । यसका लागि उनी केही महिना एक्सनको तालिम लिने तयारीमा रहेका छन् । यस फिल्ममा अभिनेता सौगात मल्ल र अनमोल केसी पनि देखिने भएका छन् । सौगात मल्ल र अनमोल केसीसँग पुष्पको यो पहिलो स्क्रिन शेयरिङ हो । यस फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहनेछ । यस फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने् फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेका छन् । यस फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने योजनामा निर्माण टिम रहेको छ ।
सिरिजको रुपमा निर्माण हुने ‘एक्स ९’ मा भिलेनको भूमिकाका लागि बलिउड स्टार सुनिल सेट्टी महंगो पर्ने भएपछि अर्का अभिनेता सोनु सूदलाई अफर गरिएको निर्माण पक्षले जानकारी दिएका छन् । फिल्मको लागत ५ करोड छुने अनुमान गरिएको छ । नेपाली फिल्ममा बलिउड स्टार आउने कि कुरा मात्र हो भन्ने कुरा हेर्नको लागि केही समय कुर्नै पर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *