अफगास्तानबाट ६५४ नेपालीको उद्धार

काठमाडौँ, ८ साउन । अफगास्तानबाट ६५४ जना नेपालीको उद्धार गरिएको छ । अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको हो । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन । मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडाँै आइपुगेका छन ।
नेपाली नागरिकको स्वदेश आगमनपश्चात अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनिहरूलाई सामाखुशीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्यका मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।
अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडाँैसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सोमबार साँझ ५ बजेसम्म ३६१ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन । हालसम्म सम्पर्कमा आएका मध्ये दुई जनाको राहदानी नभएको जानकारी प्राप्त भएकाले यात्रा अनुमति पत्र जारी गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको हुँदा बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *