कोरोना निको हुने दर ९३.५ प्रतिशत


काठमाडौँ, ८ भदौ । निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । सोमबार देशभर एक हजार ९२४ सङ्क्रमित निको भएर घर फर्किएसँगै निको हुने दर ९३ दशमलव पाँच प्रतिशत पुगेको हो ।
सोमबार एक हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २९ हजार ४४३ पुगेको छ ।
थप आठ हजार ७०४ जनाको पीसीआर परीक्षण तथा दुई हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ । सोमबार देशभर १२ हजार ३४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६७९ सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७६ सङ्क्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
काठमाडौँ उपत्यकामा पछिल्लो समय ७०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १८२, भक्तपुरमा एक हजार ४११ तथा ललितपुरमा दुई हजार २४० रहेको छ ।
पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, सोमबार प्रदेश नं १ मा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, सङ्खुवासभामा पाँच, उदयपुरमा दुई, पाँचथर र तेह्रथुममा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै ३१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन् । सोमबार प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका– १० की १०२ वर्षीय महिला, वडा नं १५ की ३५ वर्षीय महिला र वडा नं २६ का ८२ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
निर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ६५४ सङ्क्रमित निको भएका छन् । प्रदेशमा चार हजार २१० होमआइसोलेशनमा छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५७८ पुगेको निर्देशनालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *