पार्टी बिभाजन र दल दर्तालाई रोकेर एमालेमा फर्किन आह्वान, बेइमानी, धोखाधडी र छलकपटपूर्ण भ्रममा नपर्न अपिल

काठमाडौँ, ८ भदौ । पार्टी बिभाजन र दल दर्तालाई रोकेर एमालेमा फर्किन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन । नेकपा एमालेका अध्यक्ष ओली र कार्यदलमा सहभागी रहेका एकता पक्षधर नेताबीच सोमबार बालकोटमा भएको छलफलमा कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको छ । यसैगरी,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष ओलीको बेइमानी, धोखाधडी र छलकपटपूर्ण भ्रममा नपर्न अपिल गरेका छन । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सोमबार अपिल गरेका हुन् । सोमबार चन्द्रागिरि पुगेका उनले त्यहाँबाट अपिल जारी गर्दै पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको सन्दर्भमा पटकपटक बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप नै वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेको उल्लेख गरेका छन् ।
यता, नेकपा (एमाले) ले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भएको छ । सहमति कार्यान्वयनका लागि मङ्गलबार पार्टीको स्थायी कमिटीको बैठक आह्वान गरिएको छ । ओली निवास बालकोटमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव कार्यान्वयनमा आइसकेको बताए । उनले भने, “असार २७ गते कार्यदलको तर्फबाट गरिएको १० बुँदे प्रस्ताव कार्यान्वयनको प्रक्रिया शुरु भइसकेको छ, यसलाई थप कार्यान्वयनमा लैजान भोलि ११ बजे पार्टी स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय भएको छ, भोलिको बैठकबाट पार्टी एकतामा देखापरेका केही समस्या समाधान हुने र पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास लिएका छौँ ।”
विसं २०७५ जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीलाई क्रियाशील बनाइने भएको छ । उनले जेठ २ को बैठकको निरन्तरता साउन १ गते बैठक बसेको बताउँदै त्यस बैठकमा सहभागी नहुने नेता पनि भोलिको बैठकमा सहभागी भएपछि जेठ २ अगाडिकै संरचनामा पार्टी अगाडि बढ्ने बताए ।
“माधव नेपालले अर्कै बाटो तय गरिसक्नु भएको छ, उनले पार्टी नै दर्ता गरिसक्नु भएको अवस्थामा उनि एकतामा फर्कनु हुन्छ भन्ने विश्वास कसरी गर्न सकिन्छ र ?,” एमाले सचिव ज्ञवालीले भने, “हामी दल दर्ता प्रक्रियामा रहेका साथीलाई फर्केर आउनुस् र आफ्नै पुरानै जिम्मेवारी सम्हाल्नुस् भनेका छाँै, विभाजनमा नजानु भएका साथीले पुरानै जिम्मेवारी सम्हाल्नु हुन्छ, बैठकमा पनि त्यही छलफल भयो ।” उनले दल दर्ता प्रक्रिया रोकेर पार्टीमा फर्किए भने फेरि पनि पार्टीमा ठाउँ दिन सकिने बारेमा बैठकमा छलफल भएको उनको भनाइ छ ।
ओली निवासमा भएको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका नेता योगेश भट्टराईले नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दर्तामा गएको बताए । नेता नेपाल आफूसँग रहेका केन्द्रीय कमिटीका सदस्यसँगको भेलाको ‘म्याण्डेट’ भन्दा बाहिर गएर आफू पक्षीय केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्यसँग छलफल नै नगरी हतारमा पार्टी विभाजनको निर्णय लिएको बताए । उनले अझै दुईदिन नेता नेपालसँग भेटेर एमालेमै फर्काउन पहल गर्ने बताए ।
पार्टी अध्यक्ष ओलीले पार्टीमा सबैलाई समान व्यवहार गर्ने, पुराना जिम्मेवारीलाई यथावत राख्ने प्रतिबद्धता व्यक्त गरे भएको बताउदै नेता भट्टराईले पार्टी बिभाजन र दल दर्तालाई रोकेर फर्केर आएमा १४ जना माथि भएको कारबाहीलाई रोक्न सकिने प्रतिबद्धता आएकाले एकताको प्रयास जारी रहने बताए ।
नेता भट्टराईले २०७५ जेठ २ गते कायम भएको नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटी क्रियाशील गर्ने सहमति भएको भन्दै ती कमिटी कसरी क्रियाशील हुन्छन् भनेर भोलि बस्ने स्थायी कमिटीले सबै ढाँचा तयार पार्ने बताए । बालकोटमा ओलीसँगै महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल, भीम रावल, घनश्याम भुसाल, युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताको सहभागिता रहेको थियो ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाललाई छाडेका स्थायी कमिटी सदस्यहरूबीच बालकोटमा छलफल भएर १० बुँदे सहमति कार्यान्वयन गर्न मंगलबार स्थायी कमिटी बैठक बोलाइएको थियो ।
तर अध्यक्ष नेपालले ती कुरा छलकपटपूर्ण रहेको बताएका छन् । ‘यसप्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवं नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमि एवं क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले फेसबुकमार्फत् अपिल गर्दै भनेका छन् ।
अध्यक्ष नेपालसहित उनी पक्षका सांसद र केन्द्रीय सदस्यहरू सोमबार बेलुकीदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका छन् । उनीहरू बुधबार त्यहीँबाट निर्वाचन आयोग जाने तयारीमा छन् । आयोगले सनाखतका लागि बुधबार समय दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *