काठमाडौं उपत्यकामा ११ हजार सक्रिय संक्रमित


काठमाडौं,७ भदौ । काठमाडौं उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या ११ हजार पुगेको छ । काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ४२० सक्रिय संक्रमित छन् । त्यस्तै भक्तपुरमा १ हजार ४ सय र ललितपुरमा २ हजार २ सय १८ सक्रिय संक्रमित छन् । आइतबार काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ५६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा बसोबास गर्ने ३९५, भक्तपुरका ११० र ललितपुरका ६१ जनालाई संक्रमण पुष्टि भएको हो । आइतबार १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनाको नमुना परीक्षण गर्दा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । यस दिन ९ हजार ४४३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७०२ जनामा र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा २१८ जनामा पोजेटिभ देखिएको हो । यस अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप २४ जनाको कोरोना भाइरसबाट मृत्यु पुष्टि भएको छ । यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ । मन्त्रालयका अनुसार मुलुकभर ३८ हजार ७५१ जना सक्रिय संक्रमित छन । जसमध्ये हाल देशभर ६८१ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । तीमध्ये पनि १६९ जना भेन्टिलेटरको सहायतामा छन् । हालसम्म कुल संक्रमितमध्ये ९३.४१ प्रतिशत निको भएका छन्, ५.१८ प्रतिशत सक्रिय छन् भने १.४१ प्रतिशतको मृत्यु भएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । जसमा एक हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा एक सय ४३, मोरङमा ११२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, सङ्खुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा एक–एक र प्रदेशबाहिरका छजनामा सङ्क्रमण देखिएको हो ।
सो अवधिमा प्रदेशमा आजै ३६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र २०५ पुरुष छन् । यसै अवधिमा तीन महिलासहित छजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *